दिल्लीमा रवि लामिछाने–नरेन्द्र मोदी भेट, नेपाल–भारत सहकार्य विस्तारबारे छलफल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, जेठ २० — भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।
बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउस मा भएको भेटमा नेपाल–भारत सम्बन्ध, साझा हितका विषय तथा द्विपक्षीय सहकार्यका विभिन्न आयामबारे छलफल भएको बताइएको छ।
भेटपछि प्रधानमन्त्री मोदीले तस्वीर सार्वजनिक गर्दै लामिछानेसँगको भेटलाई सकारात्मक र फलदायी भएको बताएका छन्। उनले नेपालसँगको सम्बन्धलाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिको महत्वपूर्ण आधारस्तम्भका रूपमा उल्लेख गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
मोदीले व्यापार, ऊर्जा, पूर्वाधार विकास, कनेक्टिभिटी तथा जनस्तरको सम्बन्ध विस्तारमा नेपालसँग मिलेर काम गर्न भारत इच्छुक रहेको बताएका छन्। साथै, नेपाल र भारतको साझा समृद्धि तथा उज्ज्वल भविष्यका लागि सहकार्य बढाउने लामिछानेको प्रस्तावलाई स्वागत गरेको पनि उल्लेख गरेका छन्।
रास्वपा सभापति लामिछाने सोमबारदेखि भारत भ्रमणमा छन्। भ्रमणका क्रममा उनले भारतीय राजनीतिक नेतृत्व तथा विभिन्न क्षेत्रका उच्च अधिकारीहरूसँग भेटघाट गरिरहेका छन्। यस भेटलाई नेपाल–भारत सम्बन्धका समसामयिक विषयमा भएको महत्वपूर्ण राजनीतिक संवादका रूपमा हेरिएको छ।

Leave a Comment