काठमाडौं : नदी किनार आसपासका अनधिकृत सुकुमवासी बस्ती हटाउने सरकारी अभियान अन्तर्गत आज बिहानदेखि काठमाडौंका विभिन्न स्थानमा डोजर परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनअनुसार एकैपटक आधा दर्जनभन्दा बढी बस्ती खाली गराउने कार्य सुरु भएको हो।
वडा नम्बर ११ को वंशीघाट, १४ को बल्खु, १५ को स्वयम्भू, १६ को बालाजु तथा वडा नम्बर ३ र २६ अन्तर्गत सामाखुशी, खाडिपाखा र रानीबारी क्षेत्रमा डोजर चलाइएको छ। यस अभियानका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
प्रशासनले यसअघि नै सूचना जारी गर्दै वैशाख १८ गते बिहान ७ बजेदेखि बस्ती खाली गराउने जानकारी दिएको थियो। जोखिमयुक्त नदी किनार तथा सार्वजनिक, पर्ति र निजी जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका बस्तीलाई हटाउँदै मानव सुरक्षा र सम्भावित विपद् न्यूनीकरण गर्ने उद्देश्य रहेको प्रशासनको भनाइ छ।
सूचना अटेर गरेर बस्दा हुन सक्ने क्षतिको जिम्मेवारी स्वयं बासिन्दाले लिनुपर्ने चेतावनीसमेत दिइएको छ। त्यसअघि नै केही स्थानमा, विशेष गरी अनामनगरको धोबीखोला किनारका बासिन्दा बस्ती छाड्न थालिसकेका थिए।
प्रशासनले प्रभावित बासिन्दालाई घरटहरा तत्काल खाली गर्न, बिरामी, वृद्धवृद्धा, गर्भवती तथा बालबालिकालाई सुरक्षित स्थानमा सार्न र आवश्यक परे सुरक्षाकर्मीको सहयोग लिन आग्रह गरेको छ। साथै, वास्तविक भूमिहीनलाई अस्थायी बसोबासको व्यवस्था गर्ने र दीर्घकालीन समाधानका लागि पहिचान प्रक्रिया अघि बढाइने जनाएको छ।
यसअघि पनि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रका बस्तीमा डोजर चलाइसकिएको छ। आजको अभियानसँगै काठमाडौं उपत्यकाका बाँकी नदी किनारका बस्तीहरू हटाउने प्रक्रिया तीव्र बनाइएको छ।
काठमाडौंका सुकुमवासी बस्तीमा आजदेखि डोजर अभियान सुरु
Leave a Comment
Leave a Comment

