सरकारी निर्णय अवज्ञा : विद्यालय सञ्चालनबारे शिक्षामन्त्रीले स्थानीय तहसँग छलफल गर्ने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — विद्यालय शिक्षामा देखिएको अन्योल अन्त्य गर्न सरकार सक्रिय भएको छ। सरकारी निर्णय विपरीत विद्यालय सञ्चालन गरेको विषयमा स्पष्टता ल्याउन शिक्षा मन्त्रालयले स्थानीय तहका प्रमुखहरूसँग छलफल गर्ने तयारी गरेको छ।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा हुने छलफलमा सस्मित पोखरेलको नेतृत्वमा काठमाडौँ उपत्यकाका महानगरपालिकाका प्रमुखहरू तथा सम्बन्धित निकायका उच्च अधिकारी सहभागी हुनेछन्। छलफलमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायतका प्रतिनिधिहरू सहभागी रहनेछन्।
विद्यालय भर्ना, शुल्क निर्धारण र वार्षिक शैक्षिक क्यालेण्डरका विषयमा देखिएको विवाद समाधान गर्ने उद्देश्यले बैठक आयोजना गरिएको मन्त्रालयले जनाएको छ। केही निजी विद्यालयहरूले कानुनविपरीत समयअगावै भर्ना सुरु गरेको र तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो बढेपछि मन्त्रालयले त्यसलाई फिर्ता गर्न निर्देशन दिइसकेको छ।
संघीय सरकारले वैशाख १५ देखि भर्ना र वैशाख २१ देखि पठनपाठन सुरु गर्न निर्देशन दिएको थियो। तर, उपत्यकाका केही स्थानीय तहहरूले वैशाख ११ देखि नै भर्ना अभियान सञ्चालन गर्दै वैशाख १५ बाट कक्षा सुरु गराएका थिए, जसले केन्द्र र स्थानीय तहबीच मतभेद सिर्जना गरेको छ।
मन्त्रालयले अब सबै सरोकारवालाबीच सहमति खोज्दै शिक्षा प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्य राखेको जनाएको छ।

Leave a Comment