सुनसरीमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते

पढ्न लाग्ने समय : 1 मिनेट

सुनसरी, २५ कात्तिक। सुनसरीको इनरुवा नगरपालिका–५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
बुधबार साँझ भएको दुर्घटनामा स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका–९ की सात वर्षीया रिदिमा सरदार गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ अस्पताल पुर्‍याइएकी उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटर र साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक इनरुवा–७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी–३ का २२ वर्षीय सागर सरदार, मोटरसाइकलमा पछाडि सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार घाइते भएका छन्।
त्यसैगरी साइकलमा सवार इनरुवा–५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल पनि घाइते भएका छन्। घाइते सबैको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Leave a Comment