काठमाडौं । भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने मार्गबारे नेपालले उठाएको आपत्तिलाई अस्वीकार गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको वक्तव्यमा लिपुलेक मार्ग कुनै नयाँ विषय नभई दशकौँदेखि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको दाबी गरिएको छ। उनका अनुसार सन् १९५४ देखि नै उक्त मार्गबाट कैलाश मानसरोवर यात्रा हुँदै आएको छ।
नेपालले हालै सार्वजनिक गरेको धारणा र नक्सा सम्बन्धी दाबीप्रति प्रतिक्रिया दिँदै भारतले ती दाबीहरूलाई ‘एकतर्फी’ र ‘ऐतिहासिक आधारविहीन’ भन्दै अस्वीकार गरेको छ। विशेषगरी लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रसम्बन्धी नेपालको दाबी प्रमाणित नभएको भारतको भनाइ छ।
यद्यपि, भारतले सीमा विवाद समाधानका लागि कूटनीतिक संवादमार्फत छलफल गर्न तयार रहेको संकेत दिएको छ। दुई देशबीचका संवेदनशील विषयहरू आपसी समझदारीबाट टुंग्याउनुपर्नेमा भारतले जोड दिएको छ।
यसअघि नेपालले लिपुलेक हुँदै भारत–चीन आवतजावतका गतिविधिप्रति आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयमार्फत औपचारिक धारणा सार्वजनिक गरेको थियो।
लिपुलेक मार्ग विवादः भारतले भन्यो– पुरानै बाटो, नयाँ विषय होइन
Leave a Comment
Leave a Comment

