कांग्रेस महाधिवेशन निर्वाचन फेरि सर्‍यो, दिउँसो १ बजेदेखि मतदान हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असोज २२ । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि तय गरिएको मतदान समय फेरि परिवर्तन भएको छ।

निर्वाचनको आवश्यक तयारी पूरा नभएको भन्दै मतदान दिउँसो १ बजेदेखि सुरु गर्ने निर्णय गरिएको हो।
यसअघि बिहीबार बिहान ७ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। वर्षा र प्राविधिक समस्याका कारण त्यसलाई संशोधन गर्दै बिहान १० बजे मतदान सुरु गर्ने भनिए पनि तयारी पूरा नभएपछि पुनः समय सारिएको निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार निर्वाचन व्यवस्थापनको तयारी पूरा गर्न थप समय आवश्यक परेकाले मतदान १ बजेसम्मका लागि सारिएको हो।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशनका ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि काठमाडौंका तीन स्थानमा सात वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ।
प्रतिनिधिको प्रदेश तथा समूहअनुसार मतदान गर्ने व्यवस्था मिलाइएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् भने प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र राखिएको छ।
त्यस्तै, खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको छ।
मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित प्रतिनिधिले तोकिएको केन्द्रबाट मतदान गर्न पाउने निर्वाचन समितिले जनाएको छ।

Leave a Comment