इरान–अमेरिका तनाव समाधानतर्फ, शान्ति सम्झौताका लागि तीव्र कूटनीतिक पहल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं : लामो समयदेखि तनाव र सैन्य गतिविधिबीच रहेको अमेरिका–इरान सम्बन्ध अब वार्ता र सम्झौतामार्फत समाधानतर्फ उन्मुख भएको संकेत देखिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुवै देशबीच युद्धविराम र तनाव न्यूनीकरणका लागि १४ बुँदे प्रारम्भिक सहमति तयार पार्ने प्रयास अन्तिम चरणमा पुगेको छ।
समाचारअनुसार आगामी ४८ घण्टाभित्र सम्झौताबारे औपचारिक प्रगति सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ। प्रस्तावित सहमतिमा इरानले आफ्नो आणविक कार्यक्रम सीमित अवधिका लागि रोक्ने तथा अमेरिकाले केही आर्थिक प्रतिबन्ध खुकुलो पार्ने विषय समेटिएको बताइएको छ।
यससँगै इरानको रोक्का गरिएको अर्बौं डलर बराबरको सम्पत्ति फुकुवा गर्ने, होर्मुज जलमार्गमा जहाज आवागमन सहज बनाउने तथा समुद्री सुरक्षालाई प्राथमिकता दिने सहमति पनि हुनसक्ने जनाइएको छ।
दुवै पक्षबीच प्रारम्भिक रूपमा ३० दिने वार्ता अवधि तय गर्ने तयारी गरिएको छ। उक्त अवधिमा विस्तृत राजनीतिक, सुरक्षा र आर्थिक विषयमा छलफल हुनेछ। तर वार्ता निष्कर्षमा नपुगे अमेरिकाले पुनः आर्थिक नाकाबन्दी वा सैन्य विकल्प अपनाउन सक्ने सर्तसमेत राखिएको समाचारमा उल्लेख छ।
वार्तामा अमेरिकी प्रतिनिधिका रूपमा स्टिभ विट्कोफ र जेरेड कुशनर सहभागी रहेको बताइएको छ भने इरानी उच्च अधिकारीहरू पनि संवादमा सक्रिय छन्। पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको र गत महिना त्यहीँ शान्ति संवाद आयोजना गरिएको जनाइएको छ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज क्षेत्रमा सञ्चालन भइरहेको ‘प्रोजेक्ट फ्रिडम’ नामक नौसैनिक अभियान अस्थायी रूपमा स्थगित गरेका छन्। यसलाई वार्तामा सकारात्मक संकेतका रूपमा हेरिएको छ।
यद्यपि क्षेत्रीय तनाव भने पूर्ण रूपमा साम्य भइसकेको छैन। बुधबार मात्रै होर्मुज जलमार्गमा फ्रान्सेली कन्टेनर जहाजमाथि आक्रमण हुँदा केही चालक दलका सदस्य घाइते भएका थिए। फेब्रुअरीयता उक्त समुद्री मार्ग निरन्तर तनावको केन्द्र बनेको छ।
सम्झौतासम्बन्धी खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा पनि सकारात्मक प्रभाव देखिएको छ। कच्चा तेलको मूल्य घटेको छ भने विश्वका प्रमुख सेयर बजारमा वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानी विदेशमन्त्री अब्बास अराघचीले तेहरान “न्यायपूर्ण र दीर्घकालीन सम्झौता” का पक्षमा रहेको प्रतिक्रिया दिएका छन्।

Leave a Comment