काठमाडौं, भदौ ३१ । मुगुमा बुधबार बिहान छोटो अन्तरालमा दुई पटक भूकम्प गएको छ। दुवै भूकम्पको केन्द्रबिन्दु जिल्लाको कलाई आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार बिहान १ बजेर ५१ मिनेटमा कलाई आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही घण्टापछि बिहान ४ बजेर २८ मिनेटमा सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको हो।
लगातार दुईपटक भूकम्प गएपछि मुगु तथा आसपासका क्षेत्रमा धक्का महसुस गरिएको जनाइएको छ। हालसम्म भूकम्पबाट भएको क्षति तथा मानवीय अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन।
यसअघि भदौ २६ गते पनि जाजरकोटको कालसेनी आसपास केन्द्रबिन्दु भएर बिहान ९ बजेर ८ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

