बारामा एलपी ग्यास बोकेको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
फोटो-एआइ

बारा, भदौ ३१ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सागर आयल पेट्रोल पम्पनजिक एलपी ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
मंगलबार राति करिब ८ः३० बजे वीरगन्ज–पथलैया सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पूर्वतर्फको सर्भिस लेनबाट एक्सप्रेस–वेमा प्रवेश गर्दै गरेको ना.३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको ना.४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार पर्साको वीरगन्ज महानगरपालिका–१५ नगवाका ३५ वर्षीय रविन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलीप चौधरी गम्भीर घाइते भएका थिए।

घाइते दुवैलाई तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारका क्रममा राति ९ः१० बजे चिकित्सकले ईसिजी परीक्षण गरी दुवैलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
दुवै मृतकको शव नारायणी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। ट्रक चालक चितवनको भरतपुर महानगरपालिका–७ का करिब ५८ वर्षीय सुनिलराज पाठकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल भने इलाका प्रहरी कार्यालय जीतपुरको नियन्त्रणमा रहेको प्रवक्ता घलेले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Comment