काठमाडौं, भदौ ३१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इजरायललाई करिब २.८ अर्ब अमेरिकी डलर बराबरको हतियार उपलब्ध गराउने तयारी गरेको छ। प्रस्तावित प्याकेजमा करिब ४० हजार वटा भारी बम समावेश छन्।
अमेरिकी अधिकारीहरूका अनुसार प्रस्तावित हतियार सम्झौतामा २० हजार एमके–८४ र २० हजार बीएलयू–११७ बम रहनेछन्। प्रत्येक बमको तौल करिब ९०० किलोग्राम छ। यद्यपि, सम्झौता भने अहिलेसम्म अन्तिम भइसकेको छैन।
यस विषयमा अमेरिकी कांग्रेसलाई अनौपचारिक रूपमा जानकारी गराइसकिएको बताइएको छ।
यी बमको आपूर्ति पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले सन् २०२४ मा रोकेको थियो। गाजामा घना बस्ती भएका क्षेत्रमा दुई हजार पाउन्डका बम प्रयोग गर्दा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु हुन सक्ने भन्दै तत्कालीन प्रशासनले आपूर्तिमा रोक लगाएको थियो।
ट्रम्प पुनः राष्ट्रपति बनेपछि उक्त रोक हटाइएको थियो। अहिले उनको प्रशासनले ठूलो संख्यामा यस्ता बम समावेश भएको नयाँ हतियार बिक्री सम्झौताको तयारी गरिरहेको हो।
एमके–८४ र बीएलयू–११७ जस्ता भारी बममध्ये केही जमिनमुनिका संरचनालाई लक्षित गर्न प्रयोग गरिन्छ भने केहीले जमिनमाथि ठूलो क्षेत्रसम्म क्षति पुर्याउन सक्छन्। विज्ञहरूले गाजामा भएका आक्रमणका भिडियो तथा घटनास्थलबाट प्राप्त अवशेषको अध्ययन गर्दा अमेरिकी निर्मित बम प्रयोग भएको देखिएको बताएका छन्।
यसअघि पनि ट्रम्प प्रशासनले इजरायलका लागि अर्बौं डलर बराबरका हतियार बिक्रीलाई स्वीकृति दिएको थियो। गत वर्ष करिब ३ अर्ब डलरको हतियार बिक्री स्वीकृत गरिएकोमा ३५ हजार ५०० भन्दा बढी भारी बम समावेश थिए। त्यसपछि जनवरीमा इजरायलका लागि थप ६.६७ अर्ब डलर बराबरको हतियार बिक्रीलाई स्वीकृति दिइएको थियो।
सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा दक्षिणी इजरायलमा भएको आक्रमणपछि इजरायलले गाजामा सैन्य अभियान सुरु गरेको थियो। उक्त आक्रमणमा करिब १ हजार २०० जनाको मृत्यु भएको र २५१ जना बन्धक बनाइएको विवरण सार्वजनिक भएको थियो।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य कारबाहीमा हालसम्म ७३ हजार २६४ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ। उक्त तथ्याङ्कमा युद्धविरामपछि मृत्यु भएका व्यक्तिहरू पनि समावेश छन्।
अमेरिकी मध्यस्थतामा युद्धविराम भए पनि गाजामा हिंसा पूर्ण रूपमा अन्त्य भएको छैन। इजरायली पक्षबाट हुने आक्रमण तथा हमाससँग सम्बन्धित लडाकु र इजरायली सैनिकबीचका हिंसात्मक घटनाहरू जारी रहेको बताइएको छ।

