अस्पतालबाहिर बच्चा जन्माउनुपरेको घटनाको छानबिन प्रतिवेदन मन्त्रालयमा, कारबाही प्रक्रिया अघि बढ्यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, ३१ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा प्रसूति सेवाका लागि पुगेकी महिलाले अस्पतालबाहिर बच्चा जन्माउनुपरेको घटनाको छानबिन प्रतिवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बुझाइएको छ।

प्रतिवेदन प्राप्त भएपछि घटनामा देखिएका कमजोरी र आचारसंहिता उल्लंघनका विषयमा कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित छानबिन समितिले बुधबार मन्त्रालयमा प्रतिवेदन बुझाएको हो। समितिले भदौ २५ देखि २७ गतेसम्म अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गरी घटनासँग सम्बन्धित तथ्य र प्रमाण संकलन गरेको थियो।

छानबिनका क्रममा अस्पतालको सेवा प्रवाह, स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासनको भूमिकाका साथै कर्मचारी नियुक्ति र व्यवस्थापनबारे समेत अध्ययन गरिएको थियो। प्रतिवेदनमा चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीबाट आचारसंहिता उल्लंघन भएको देखिएका विषय आवश्यक कारबाहीका लागि सम्बन्धित काउन्सिलमा पठाइएको मन्त्रालयले जनाएको छ।

प्रतिवेदनले अस्पतालमा कर्मचारी नियुक्ति तथा व्यवस्थापन अव्यवस्थित रहेको विषयसमेत औँल्याएको छ। जनशक्ति व्यवस्थापन सुधारका लागि ८० वटा अस्थायी दरबन्दी थप गर्ने प्रस्तावमा अर्थ मन्त्रालयको सहमति प्राप्त भइसकेको छ। उक्त प्रस्ताव अब मन्त्रिपरिषद्मा पेस गरिने भएको छ।

यसैगरी छात्रवृत्तिमा अध्ययन गरी आएका सात जना चिकित्सकलाई दुई वर्षका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा पठाइएको मन्त्रालयले जनाएको छ। चिकित्सक तथा कर्मचारीको नियुक्ति र व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक परिपत्रसमेत गरिएको छ।
मन्त्रालयले आगामी दिनमा अस्पतालबाहिरै बच्चा जन्माउनुपर्ने जस्ता घटना दोहोरिन नदिन सेवा प्रवाह, जनशक्ति व्यवस्थापन र अस्पताल प्रशासनलाई थप व्यवस्थित बनाउने जनाएको छ।

आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका, २०७८ अन्तर्गत उपलब्ध निःशुल्क सेवा तथा सुविधाबारे सर्वसाधारणलाई जानकारी गराउन विभिन्न मातृभाषामा जनचेतनामूलक सामग्री तयार गरी प्रचारप्रसार गर्ने कामसमेत अघि बढाइएको मन्त्रालयले जनाएको छ।

Leave a Comment