काठमाडौं, भदौ ३१ । लिग कपअन्तर्गत भएका खेलमा लिभरपुल र आर्सनलले प्रभावशाली जित निकाल्दै प्रतियोगिताको अर्को चरणमा स्थान बनाएका छन्।
लिभरपुलले टोटनहमलाई ३–१ गोलले पराजित गर्दै प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको हो। लिभरपुलका लागि एलेक्स म्याक एलिस्टर, कोडी गाक्पो र डोमिनिक सबोसलाईले गोल गरेका थिए।
लिभरपुलसँगको हारपछि टोटनहममाथि दबाब थपिएको छ। पछिल्ला खेलमा अपेक्षित प्रदर्शन गर्न नसकिरहेको टोटनहमका लागि यो पराजय थप चुनौतीपूर्ण बनेको छ।
यस्तै, अर्को खेलमा आर्सनलले इप्सविच टाउनलाई ४–२ गोलले पराजित गरेको छ। पोर्टमन रोडमा भएको खेलमा आर्सनलका लागि म्याक्स डाउमनले दुई गोल गरे।
यो जितसँगै आर्सनलले जारी सिजनमा खेलेका सबै ६ खेलमा जित निकाल्ने क्रमलाई निरन्तरता दिएको छ।
लिग कपअन्तर्गतकै अन्य खेलमा ब्रेन्टफोर्डले रिडिङलाई २–१ तथा फुलहमले वेस्ट ह्यामलाई ३–२ गोलले पराजित गरेका छन्।

