१२ प्राथमिकतासहित सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, प्रस्तुतिकै बीच संसदबाट बाहिरिए प्रधानमन्त्री शाह

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सुशासन, डिजिटल अर्थतन्त्र, पूर्वाधार विकास र रोजगारीलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
सरकारले आगामी वर्ष औसत आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्यसहित कर प्रणाली सुधार, सूचना प्रविधि प्रवर्द्धन, ऊर्जा उत्पादन वृद्धि, स्वास्थ्य बीमा पुनर्संरचना र डिजिटल सेवाको विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ।
नीति तथा कार्यक्रममा उद्यमी र मध्यम वर्गमाथिको करको बोझ घटाउने, सम्पूर्ण आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने तथा कर फिर्ता प्रणालीलाई स्वचालित बनाउने उल्लेख गरिएको छ। साथै सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्दै सफ्टवेयर, क्लाउड सेवा, साइबर सुरक्षा र एआई प्रविधिलाई निर्यातमुखी बनाइने सरकारको योजना छ।
सरकारले नेपाल कार्बन प्राधिकरण गठन गरी रेड प्लस कार्यक्रम विस्तार गर्ने, सामुदायिक वन समूहलाई कार्बन ट्रेडिङबाट प्रत्यक्ष लाभ दिने तथा सरकारी भवन र उद्योगमा स्वदेशी काठको प्रयोग अनिवार्य बनाउने नीति पनि अघि सारेको छ।
ऊर्जा क्षेत्रमा ३० हजार मेगावाट विद्युत उत्पादनको दीर्घकालीन लक्ष्य राखिएको छ भने आयोजनाबाट प्रभावित स्थानीयलाई मुआब्जाको सट्टा सेयर दिने व्यवस्था गरिने उल्लेख छ। त्यसैगरी आगामी आर्थिक वर्षदेखि २०९२/९३ सम्मलाई “रोजगार प्रवर्द्धन दशक” घोषणा गरेर वैदेशिक रोजगारीलाई बाध्यता होइन, विकल्पका रूपमा विकास गर्ने सरकारको योजना छ।
काठमाडौं उपत्यकाको वायु प्रदूषण नियन्त्रण, स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना, १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट विस्तार तथा एआईमा आधारित सिकाइ प्रणाली विकास गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
यस्तै सरकारले आगामी आर्थिक वर्षभित्रै सडक बालबालिकामुक्त घोषणा गर्ने लक्ष्य राखेको छ भने राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई पुनर्संरचना गरेर अनुसन्धानमुखी सार्वजनिक थिंकट्यांकका रूपमा विकास गर्ने योजना अघि सारेको छ।
यसैबीच नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह बीचमै संसद भवनबाट बाहिरिएका छन्। राष्ट्रपति पौडेलले एक घण्टा १८ मिनेटसम्म नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री शाह करिब ५६ मिनेटपछि संसदबाट बाहिरिएको देखिएको हो।
प्रधानमन्त्रीले सुरुमै राष्ट्रपतिलाई नीति तथा कार्यक्रम हस्तान्तरण गरेका थिए। तर कार्यक्रम सकिँदासम्म उनको सिट खाली देखिएको थियो। प्रधानमन्त्री संसदबाट किन बाहिरिए भन्ने विषयमा भने कुनै औपचारिक जानकारी दिइएको छैन।

Leave a Comment