काठमाडौँ, पुस ६ — जेनजी प्रतिनिधि मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले वर्तमान सरकारले युवाहरूको आन्दोलनको भावना र अपेक्षामाथि धोका दिएको आरोप लगाउँदै आन्दोलनको घोषणा गरेको छ।
आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले १० बुँदे माग सार्वजनिक गर्दै भोलिदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने जनाएको हो। आन्दोलन लोकतान्त्रिक र अहिंसात्मक हुने ढुंगानाले स्पष्ट पारे।
पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिअनुसार आन्दोलनकारीहरूले मुलुकको राजनीतिक, सामाजिक र आर्थिक सुधारसँग जोडिएका विभिन्न माग अघि सारेका छन्। ती मागहरू यस प्रकार छन्:
संवैधानिक सुधार र पुनर्लेखन:
राज्य पुनःसंरचना र दीर्घकालीन राजनीतिक स्थिरताका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभा गठन गरी संविधान पुनर्लेखन गर्नुपर्ने।
न्यायिक सुधार:
भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली ‘भ्रष्टाचार निर्मूल आयोग’ गठन गर्नुपर्ने तथा अदालतका फैसलाहरू प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था लागू गर्नुपर्ने।
आन्दोलनकारीको रिहाइ र न्याय:
अघिल्लो आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष युवाहरूको तत्काल रिहाइ, घाइतेहरूको निःशुल्क उपचार तथा शहीद परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता।
मताधिकार र एनआरएन नीति:
विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्दै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ नीतिलाई व्यवहारमा लागू गर्नुपर्ने।
पीडितको न्याय:
मिटरब्याज पीडित, सहकारी तथा लघुवित्त पीडित र उखु किसानका समस्या तत्काल समाधान गरी दोषीमाथि कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने।
ढुंगाना नेतृत्वको समूहले आफ्ना मागहरू बेवास्ता गरिए आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने चेतावनीसमेत दिएको छ।

