प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला संसद् बैठक बीचमै छोडेपछि राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन करिब ५५ मिनेटपछि बैठकबाट बाहिरिएका थिए। उनी झण्डै ४५ मिनेटपछि मात्रै संसद्को अर्को बैठकमा पुनः देखिएका थिए।
संविधान तथा कूटनीतिक मामिलाका जानकार नीलाम्बर आचार्यले प्रधानमन्त्रीको उक्त कदम संसदीय मर्यादाविपरीत भएको टिप्पणी गरेका छन्। उनका अनुसार सरकारकै वार्षिक कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठक छोड्नु संसदीय अभ्यासमाथिको उपहासजस्तै देखिएको छ। उनले यस्तो व्यवहार संसद्को शिष्टाचार र राजनीतिक संस्कृतिसँग मेल नखाने बताए।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि यो विषय उठेको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गरिमा कायम राख्न प्रधानमन्त्रीले मर्यादापालनमा ध्यान दिनुपर्ने बताएका छन्। त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीको व्यवहारले संसद् र देशको प्रतिष्ठामै असर परेको टिप्पणी गरे।
सुरक्षा स्रोतका अनुसार संसद् बैठकबाट बाहिरिएपछि प्रधानमन्त्री बालेन संसद् भवनभित्रै रहेको आफ्नै कार्यकक्षमा पुगेका थिए। उनी अचानक बाहिरिएपछि सुरक्षाकर्मीसमेत केहीबेर अलमलमा परेका थिए। प्रधानमन्त्रीले कार्यकक्षमा करिब ४५ मिनेट बिताएको बताइए पनि त्यस अवधिमा उनले के गरे भन्ने खुलेको छैन।
यस घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक प्रतिक्रिया दिएको छैन। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री बाहिरिएको उल्लेख गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए, तर केही समयपछि उक्त पोस्ट हटाइएको थियो।
राष्ट्रपतिको सम्बोधन बीचमै संसद् छोडेपछि प्रधानमन्त्री बालेन विवादमा
Leave a Comment
Leave a Comment






