प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबीच भारतीय विदेशसचिव मिस्री काठमाडौंमा

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १८ कात्तिक । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारी भइरहेका बेला भएको उनको नेपाल आगमनलाई दुई देशबीचको कूटनीतिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका मिश्रीले भ्रमणका क्रममा नेपाली उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार सचिव राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय छलफल हुनेछ। छलफलमा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हित र चासोका विभिन्न विषयमा विचार आदानप्रदान गरिनेछ।
यस भ्रमणले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास दुवै पक्षले लिएका छन्।
भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीसँग जोडेर हेरिएको यस भ्रमणलाई आगामी उच्चस्तरीय कूटनीतिक संवादको पूर्वतयारीका रूपमा समेत लिइएको छ।
दुईदिने भ्रमण पूरा गरी भारतीय विदेश सचिव मिश्री बिहीबार काठमाडौं हुँदै नयाँदिल्ली फर्किने कार्यक्रम छ।

Leave a Comment