काठमाडौं । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको विद्यालय भवनमा शक्तिशाली बम आक्रमण गर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन्।
सर्वसाधारणले आश्रय लिइरहेको उक्त भवनमा लगातार बम प्रहार हुँदा भवन ध्वस्त हुनुका साथै आगलागीसमेत भएको छ।
युक्रेनी अधिकारीहरूका अनुसार कोमिशुभाखा नगरस्थित उक्त भवनमा रुसले कम्तीमा नौवटा शक्तिशाली बम खसालेको थियो।
युद्धका कारण विद्यालय सञ्चालनमा नरहेपछि भवनलाई स्थानीय प्रशासनिक कार्यालय र मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग गरिँदै आएको थियो।
आक्रमणका बेला स्थानीय बासिन्दा राहत सामग्री लिन त्यहाँ भेला भएका थिए। भवनको भूमिगत भागमा युरोपेली संघको आर्थिक सहयोगमा निर्माण गरिएको सुरक्षित आश्रयस्थलसमेत रहेको थियो। गत वर्ष निर्माण गरिएको उक्त संरचना हवाई आक्रमणबाट जोगिन सक्ने गरी बनाइएको भए पनि शक्तिशाली बमको प्रहारले कङ्क्रिट संरचना भत्किएको र आगलागी भएको स्थानीय प्रशासनले जनाएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार भएको उक्त घटनालाई रुस–युक्रेन युद्धकै सबैभन्दा घातक आक्रमणमध्ये एक बताएका छन्।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले पनि घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। मिसन प्रमुख ड्यानियल बेलका अनुसार मानवीय सहायता वितरण भइरहेको स्थान र समयबारे जानकारी हुँदाहुँदै आक्रमण गरिएको हुन सक्ने देखिएको छ। उनले घटनाले अन्तर्राष्ट्रिय मानवीय कानुनका आधारभूत सिद्धान्त उल्लङ्घन गरेको संकेत गर्ने बताएकी छन्।
आक्रमणपछि उद्धारका लागि घटनास्थल पुगेका दुई उद्धारकर्मीको समेत मृत्यु भएको छ। युक्रेनी प्रहरीले आफ्ना चार अधिकारी मारिएको जनाएको छ। उनीहरू भूमिगत आश्रयस्थलमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजान खटिएका थिए।
युक्रेनी प्रहरीका अनुसार पहिलो आक्रमणपछि उद्धारका लागि पुगेका तथा भवनबाट बाहिर निस्कने प्रयास गरिरहेका मानिसहरू दोस्रो आक्रमणको निशानामा परेका थिए। स्थानीय प्रशासनले आक्रमणमा केएबी–५०० र एफएबी–३००० प्रकारका शक्तिशाली बम प्रयोग गरिएको जनाएको छ।
विद्यालय भवनमा आक्रमण भएको केही समयपछि रुसले युक्रेनका विभिन्न ऊर्जा पूर्वाधारलाई लक्षित गरी सयौँ ड्रोन तथा दर्जनौँ क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।
लगातार भइरहेका आक्रमणबाट युक्रेनको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको भन्दै राष्ट्रपति जेलेन्स्कीले देशको हवाई सुरक्षा प्रणाली बलियो बनाउन अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी अमेरिकासँग सहयोग मागेका छन्।

