काठमाडौं, १८ कात्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्। कर्णाली याक्सबाट प्रतियोगिता खेल्न उनी बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
काठमाडौं आइपुगेका मिलरलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए। ३७ वर्षीय बायाँहाते मध्यक्रमका ब्याटर मिलर अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी हुन्।
उनले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीसँगै विश्वका विभिन्न चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग र पाकिस्तान प्रिमियर लिगलगायत प्रतियोगितामा उनले सहभागिता जनाइसकेका छन्।
आईपीएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले पहिलोपटक आईपीएल उपाधि जित्दा मिलरको प्रदर्शन महत्त्वपूर्ण रहेको थियो।
मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र नौ अर्धशतकसहित दुई हजार ८०४ रन बनाएका छन्। समग्र टी–२० क्रिकेटमा भने उनले ५८४ खेल खेल्दै चार शतक र ५३ अर्धशतकको मद्दतमा १२ हजार ४३५ रन बनाइसकेका छन्।
उनले सन् २०१७ मा बंगलादेशविरुद्ध मात्र ३५ बलमा शतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए। त्यस्तै, आईपीएलमा पञ्जाबबाट खेल्दा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३८ बलमै शतक पूरा गरेका थिए।
कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले नेपाली क्रिकेटसँगै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ। टोलीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र दोस्रो खेलमा विराटनगरलाई चार विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने काठमाडौं गोर्खाजसँग चार विकेटले पराजित भएको थियो।
कर्णालीले अब शुक्रबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलमा मिलर मैदान उत्रने अपेक्षा गरिएको छ। उनको आगमनले कर्णालीको ब्याटिङ थप बलियो हुने विश्वास टोलीले लिएको छ।
एनपीएल खेल्न दक्षिण अफ्रिकी स्टार डेभिड मिलर काठमाडौंमा, शुक्रबार मैदान उत्रने
Leave a Comment
Leave a Comment

