पचरौताका शिक्षक–कर्मचारीको तलब तत्काल निकासा गर्न नेपाल शिक्षक संघ बाराको माग

पढ्न लाग्ने समय : 1 मिनेट
फाइल फोटो

बारा। बाराको पचरौता नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी तथा राष्ट्रसेवक कर्मचारीले हालसम्म तलब, भत्ता तथा अन्य पारिश्रमिक नपाएको भन्दै नेपाल शिक्षक संघ बाराले तत्काल भुक्तानीको माग गरेको छ।

नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीले एक हार्दिक अपिल जारी गर्दै तलब भत्ता निकासा नहुँदा शिक्षक तथा कर्मचारीमा परेको समस्याप्रति सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

अध्यक्ष सहनीले संघीय सरकार, प्रदेश सरकार र पचरौता नगरपालिकालाई तत्काल समन्वय गरी शिक्षक, कर्मचारी तथा राष्ट्रसेवक कर्मचारीको रोकिएको तलब, भत्ता र अन्य पारिश्रमिक अविलम्ब निकासा गर्न आग्रह गरेका छन्।

प्रत्येक १५ दिनमा तलब भत्ता निकासा गर्ने सम्बन्धमा गरिएको परिपत्रलाई कागजमा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उनको माग छ। परिपत्र जारी गर्ने तर त्यसअनुसार तलब भत्ता निकासा नगर्ने प्रवृत्तिको अन्त्य गरी कर्मचारीले पाउनुपर्ने पारिश्रमिक तत्काल उपलब्ध गराउन उनले जोड दिएका छन्।
त्यसैगरी, राजनीतिक खिचातानी तथा कर्मचारीबीचको पदगत मनमुटावलाई हालका लागि थाती राखेर तलब भत्ता निकासालाई प्राथमिकता दिन अध्यक्ष सहनीले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाह गरिसकेपछि पाउनुपर्ने पारिश्रमिकका लागि लामो समय कुर्नुपर्ने अवस्था उचित नभएको उल्लेख गर्दै उनले शिक्षक तथा कर्मचारीको आर्थिक समस्यालाई गम्भीरतापूर्वक लिन र तत्काल निकासा प्रक्रिया अघि बढाउन तीनै तहका सरकारसँग हार्दिक अपिल गरेका छन्।

Leave a Comment