काठमाडौं, जेठ ३ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पार्टी सदस्यता रोकिएपछि पहिलोपटक आफ्नो औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी गराएको छ।
३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा एमालेले आइतबार बल्खुस्थित पुरानो पार्टी कार्यालय मदननगरमा आयोजना गरेको कार्यक्रममा भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित भएकी हुन्।
कार्यक्रम दिवंगत नेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा आयोजित गरिएको थियो। दुवै नेता ३३ वर्षअघि चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएका थिए।
सभामा एमालेका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल लगायत शीर्ष नेताहरू सहभागी थिए। अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा देखिएनन्।
राष्ट्रपतिको कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले एमालेको सदस्यता नवीकरण गरेकी थिइन्। तर पार्टीभित्र नेतृत्व संघर्ष चर्किएपछि अध्यक्ष ओलीले उनको सदस्यता रोक्ने निर्णय गरेका थिए। त्यसपछि उनी एमालेको ११औँ महाधिवेशनमा समेत सहभागी हुन पाएकी थिइनन्।
पछिल्लो समय एमालेभित्र नेतृत्व परिवर्तनको बहस बढिरहेका बेला भण्डारी र ओलीबीच सम्बन्ध सुधारको संकेत देखिन थालेको राजनीतिक वृत्तमा चर्चा छ। केही दिनअघि भक्तपुरको गुन्डुमा दुवै नेताबीच भेटवार्ता भएको थियो। त्यसलगत्तै एमालेले भण्डारीलाई प्रमुख अतिथि बनाउनु अर्थपूर्ण रूपमा हेरिएको छ।
विद्या भण्डारीलाई एमाले कार्यक्रममा पहिलोपटक प्रमुख अतिथि
Leave a Comment
Leave a Comment






