बारा । नेपाल पत्रकार महासंघ बारा शाखाले वार्षिक साधारणसभाका लागि विभिन्न व्यक्ति तथा संस्थासँग आर्थिक सहयोग माग्दै पत्राचार गरेपछि यसको चौतर्फी चर्चा सुरु भएको छ । पत्रकारिता जस्तो स्वतन्त्र र मर्यादित पेशासँग जोडिएको संस्थाले खुला रूपमा आर्थिक सहयोग मागेको विषयलाई लिएर पत्रकारिता वृत्त तथा सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेका छन् ।
महासंघ बाराले पत्रकारहरूको साझा संस्था भएकाले वार्षिक साधारणसभा सम्पन्न गर्न सहयोग गरिदिन आग्रह गर्दै विभिन्न निकायमा पत्र पठाएको थियो । तर सहयोग संकलन प्रक्रियालाई लिएर महासंघभित्रै असन्तुष्टि देखिएको छ ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष पानालाल दासले कार्यसमितिको निर्णयबिना चन्दा उठाउनु गलत भएको बताएका छन् । उनले आर्थिक सहयोग संकलन गर्ने विषयमा कार्यसमितिबाट कुनै औपचारिक निर्णय नभएको र आफूलाई समेत जानकारी नगराइएको बताए ।
उनले पत्रकार महासंघ जस्तो संस्थाले सदस्यता शुल्क, संस्थागत कोष व्यवस्थापन तथा पारदर्शी योजनामार्फत आफ्ना कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे । आर्थिक अभाव भए पनि त्यसको व्यवस्थापन संस्थागत निर्णय र स्पष्ट प्रक्रियाअनुसार हुनुपर्ने उनको भनाइ छ ।
यस घटनाले पत्रकार महासंघको आर्थिक पारदर्शिता, संस्थागत स्वाभिमान र पेशागत मर्यादामाथि बहस सिर्जना गरेको छ । पत्रकारिता क्षेत्रका जानकारहरूले पनि यस्ता गतिविधि पारदर्शी र संस्थागत निर्णयका आधारमा हुनुपर्ने बताएका छन् ।
निर्णयबिनै चन्दा संकलन गर्नु गलत : महासंघ उपाध्यक्ष दास
Leave a Comment
Leave a Comment






