काठमाडौं, असार २३ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ८३ हजार ५२३ जना विद्यार्थीले परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका छन्।
बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गरेको परीक्षा सम्पन्न भएको १४ दिनमै नतिजा सार्वजनिक गरेको हो। यसअघि वैशाख २८ गते प्रकाशित नियमित एसईई नतिजामा दुई विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुने अवसर प्रदान गरिएको थियो।
यसपटक ७ जना परीक्षार्थीको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ।
नतिजाअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० जीपीए प्राप्त गरेका छन्। यस्तै १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६० तथा ४५ जनाले १.६० देखि २.०० जीपीए हासिल गरेका छन्।
उच्च उपलब्धितर्फ १६ जना विद्यार्थीले ३.६० देखि ४.०० जीपीए प्राप्त गरेका छन्।
राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूले आफ्नो नतिजा बोर्डको वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सक्ने जनाएको छ।
एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, करिब ६५ प्रतिशत विद्यार्थी सफल
Leave a Comment
Leave a Comment






