एमाले सचिवालयमा ओलीमाथि चर्कियो दबाब, आज दिनेछन् जवाफ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालय बैठक आज पनि जारी छ । भक्तपुरको गुण्डुस्थित ओली निवासमा भइरहेको बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
गत शुक्रबारदेखि सुरु भएको बैठकमा अधिकांश नेताहरूले पार्टी सञ्चालन शैलीप्रति असन्तुष्टि जनाउँदै नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएका छन् । बैठकमा बोल्ने धेरै नेताहरूले वर्तमान अवस्थामा पार्टी प्रभावकारी रूपमा अघि बढ्न नसक्ने धारणा राख्दै ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका स्रोतको भनाइ छ ।
ओलीको बचाउमा भने उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेत खुलेका छन् । उनीहरूले कठिन परिस्थितिमा नेतृत्व जोगाउनु पर्ने तर्क गरेका थिए ।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेल ले पनि अप्रत्यक्ष रूपमा वर्तमान नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेको बताइएको छ । उनले पार्टी अहिलेको अवस्थाबाट अगाडि बढ्न नसक्ने संकेत गरेका थिए ।
बैठकमा उपमहासचिव योगेश भट्टराई, रघुवीर महासेठ तथा सचिवहरू छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेल समेत ओलीको विपक्षमा उभिएको चर्चा छ । यसअघि उपाध्यक्ष विष्णु पौडेल सहित अन्य केही नेताहरूले पनि नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए ।
यता उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्याल भने ओलीको पक्षमा देखिएका छन् ।
आजको बैठकमा सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, खगराज अधिकारी र राजन भट्टराई ले धारणा राख्ने कार्यक्रम रहेको छ । सबै नेताको धारणा सकिएपछि अध्यक्ष ओलीले आफ्नो जवाफ प्रस्तुत गर्ने तयारी गरिएको छ

Leave a Comment