मधेशको नयाँ सत्ता गठबन्धनमै खटपट, मन्त्री शपथ कार्यक्रम रोकियो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

जनकपुरधाम, ११ जेठ । मधेश प्रदेशमा नयाँ सत्ता गठबन्धन बनेको केही दिनमै आन्तरिक विवाद सतहमा आएको छ। तीन दलबीच भएको भनिएको ९ बुँदे सहमति कार्यान्वयन र त्यसमा हस्ताक्षरको विषयमा मतभेद भएपछि आइतबार तय गरिएको मन्त्रिपरिषद् विस्तार रोकिएको हो।
आइतबार अपराह्न नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको थियो। एमालेबाट मन्त्री बन्ने सम्भावित प्रदेश सांसदहरू सरदा देवी थापा, मनोज कुमार सिंह र लखन दास मुख्यमन्त्री कार्यालय पुगेका थिए। विनाविभागीय मन्त्री मोहम्मद समिर पनि त्यहाँ उपस्थित थिए।
तर नेकपाका नेताहरू अन्तिम समयमा कार्यक्रममा सहभागी नभएपछि शपथ कार्यक्रम स्थगित भएको स्रोतले जनाएको छ। मन्त्री बन्न पुगेका सांसदहरू साँझसम्म प्रतीक्षा गरेर फर्किएका थिए।
केही दिनअघि मात्रै मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारले जनता समाजवादी पार्टी नेपालका मन्त्रीहरूलाई हटाएर एमालेलाई सरकारमा भित्र्याएको थियो। त्यसपछि नयाँ सत्ता समीकरण बनेको थियो।
तर गठबन्धन बनेसँगै तयार गरिएको भनिएको ९ बुँदे सहमति अहिले विवादको मुख्य कारण बनेको छ। नेकपाले सहमतिपत्रमा औपचारिक हस्ताक्षर र कार्यान्वयनलाई पहिलो शर्त बनाएको छ भने कांग्रेस र एमाले त्यसमा पूर्ण रूपमा सहमत नरहेको आरोप लागेको छ।
सहमतिपत्रमा एक करोडभन्दा कमका योजना नराख्ने, खुला प्रतिस्पर्धामार्फत योजना कार्यान्वयन गर्ने, शिक्षा, स्वास्थ्य र कृषिमा बढी बजेट केन्द्रित गर्ने तथा सुशासनलाई प्राथमिकता दिने विषय समावेश छन्।
नेकपाका नेताहरूले विगतको “टुक्रे योजना” र उपभोक्ता समिति केन्द्रित अभ्यास दोहोरिन नदिने अडान लिएका छन्। उनीहरूले आफ्ना शर्त कार्यान्वयन नभए सरकारबाट समर्थन फिर्ता लिन सकिने चेतावनीसमेत दिएका छन्।
यही विवादका कारण सत्ता साझेदार दलहरूबीच संवादसमेत प्रभावित भएको बताइएको छ। गठबन्धनभित्रको अविश्वास बढ्दै जाँदा मधेश सरकार फेरि अस्थिर बन्ने संकेत देखिएको छ।

Leave a Comment