पार्टी एकताका लागि कुलमान घिसिङलाई हर्क साम्पाङको प्रस्ताव

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि प्रस्ताव पठाएका छन्। साम्पाङले बुधबार नै औपचारिक रूपमा एकताको निमन्त्रणा पठाएको जानकारी बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
साम्पाङले फेसबुकमा लेख्दै ठूला राजनीतिक दलका नेताहरूबीच पटक–पटक सहकार्य र गठबन्धन हुने गरेको उल्लेख गर्दै आफू र कुलमान घिसिङबीच पनि सहकार्य सम्भव रहेको बताएका छन्। उनले “केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने, तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने?” भन्दै एकताको सन्देश दिएका छन्।
पछिल्लो समय साम्पाङले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकजुट बनाउने प्रयासलाई तीव्र बनाएका छन्। यसअघि उनले पूर्वमन्त्री सुदन किराँती निकट समूहलाई पनि आफ्नो पार्टीमा समाहित गरिसकेका छन्।
उता कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि वैकल्पिक राजनीतिक धारलाई संगठित गर्ने प्रयास गरिरहेको छ। यद्यपि साम्पाङको प्रस्तावबारे घिसिङ पक्षबाट हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
यस घटनाले आगामी दिनमा वैकल्पिक राजनीतिक शक्तिहरूबीच नयाँ समीकरण बन्न सक्ने चर्चा सुरु भएको छ।

Leave a Comment