बकरिदको रौनक : कलैयादेखि देशभर मस्जिदमा नमाज, घरघरमा खुसीयाली

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा — मुस्लिम समुदायको महान् पर्व बकरिद (ईद–उल–अजहा) आज बारा जिल्लासहित देशभर धार्मिक आस्था र उत्साहका साथ मनाइएको छ। बाराको कलैया, बरेवा, देवीगञ्जलगायत क्षेत्रका मस्जिद तथा ईदगाहहरूमा बिहानैदेखि नमाज अदा गर्ने श्रद्धालुको भीड लागेको थियो।
कलैयास्थित जामा मस्जिदसहित विभिन्न धार्मिक स्थलहरूमा मुस्लिम धर्मावलम्बीहरू नयाँ पोशाकमा उपस्थित भई सामूहिक नमाजमा सहभागी भएका थिए। बरेवा, देवीगञ्ज, सिमरा तथा आसपासका गाउँहरूमा पनि बकरिदको विशेष चहलपहल देखिएको थियो।
पर्वको अवसरमा परम्पराअनुसार पशु कुर्बानी दिँदै परिवार, आफन्त तथा विपन्न समुदायसँग मासु बाँडेर खुसी साटासाट गरिएको छ। घरघरमा विशेष परिकार तयार पारिनुका साथै शुभकामना आदानप्रदान गर्ने क्रम पनि चलिरहेको छ।
काठमाडौं, वीरगञ्ज, जनकपुर, नेपालगञ्ज, विराटनगरलगायत देशका विभिन्न शहरमा पनि बकरिद उल्लासपूर्वक मनाइएको छ। मस्जिद तथा भीडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
मुस्लिम समुदायका अगुवाहरूले बकरिदले त्याग, बलिदान, आपसी सद्भाव र मानवताको सन्देश दिने बताएका छन्। सरकारले पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

Leave a Comment