काठमाडौं । प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल ले दिएको अभिव्यक्तिलाई लिएर संसद्मा नयाँ विवाद उत्पन्न भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले ले सभामुखको केही भनाइ प्रतिनिधिसभा नियमावली विपरीत रहेको दाबी गर्दै संसदीय रेकर्डबाट हटाउन माग गरेको हो ।
आइतबार प्रधानमन्त्री बालेन्द्र शाह ले सांसदहरूको प्रश्नको जवाफ दिएपछि एमालेले नियमापत्ति उठाएको थियो । एमाले प्रमुख सचेतक ऐनबहादुर महर ले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी व्यवस्था सभामुखले गलत ढंगले व्याख्या गरेको आरोप लगाए ।
उनले प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीलाई प्रश्न सोध्न तीन दिनअघि नै प्रश्न दर्ता गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै सभामुखले “त्यस्तो व्यवस्था कहीँ छैन” भन्नु नियमविपरीत भएको बताए ।
महरले संसद्मा भने, “सभामुखबाट गरिएको उक्त टिप्पणी प्रतिनिधिसभा नियमावलीसँग मेल खाँदैन । त्यसैले त्यो अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइनुपर्छ ।”
यसअघि विपक्षी सांसदहरूले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर प्रक्रिया नियमअनुसार नभएको भन्दै प्रश्न उठाएका थिए । त्यसक्रममा सभामुख अर्यालले नियमावलीमा तीन दिनअघि प्रश्न टिपाउनुपर्ने स्पष्ट व्यवस्था नरहेको बताएका थिए ।
सभामुखको यही व्याख्यालाई लिएर एमालेले औपचारिक आपत्ति जनाएको हो । संसद्मा प्रक्रियागत विषयमै सत्ता र प्रतिपक्षबीच विवाद बढ्दै गएको देखिएको छ ।
सभामुखको अभिव्यक्तिमाथि एमालेको आपत्ति, रेकर्डबाट हटाउन माग
Leave a Comment
Leave a Comment






