भाजपाको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रवि लामिछाने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजदेखि भारत भ्रमणमा निस्कँदै छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा उनी पाँचदिने भ्रमणका लागि नयाँदिल्ली जान लागेका हुन्।
रास्वपाले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार लामिछाने जेठ १८ देखि २२ गतेसम्म भारतमा रहनेछन्। भ्रमणका क्रममा उनले भारतीय राजनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।
भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेलसँगै पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा तथा प्रदीप आचार्य सहभागी रहनेछन्।
रास्वपा प्रवक्ता मनीष झाले भ्रमणका क्रममा सभापति लामिछानेले भाजपाका शीर्ष नेताहरूसँग नेपाल–भारत सम्बन्ध, समसामयिक राजनीति तथा दुई देशबीचको सहकार्यका विषयमा छलफल गर्ने जानकारी दिएका छन्। भारतमा रहेका नेपाली समुदाय र पार्टी समर्थकसँग भेटघाट गर्ने कार्यक्रम पनि तय गरिएको छ।
राजनीतिक भेटघाटसँगै लामिछानेले व्यक्तिगत रूपमा अयोध्या भ्रमण गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ।
भारतीय जनता पार्टीले पनि आइतबार विज्ञप्ति जारी गर्दै रास्वपा प्रतिनिधिमण्डलसँग आफ्ना वरिष्ठ नेताहरूको भेट हुने जनाएको थियो। रविको भारत भ्रमणलाई नेपाल–भारत राजनीतिक सम्बन्धको सन्दर्भमा चासोका साथ हेरिएको छ।

Leave a Comment