प्रदेशसभा सदस्य सरोज सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर, ४ वर्षभन्दा बढी कैद सजाय

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

गौशाला, जेठ २० — मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई ४ वर्ष १ महिना कैद तथा ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइराला सम्मिलित इजलासले मंगलबार उक्त फैसला गरेको हो।
अदालतले ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ अनुसार सिंहबाट १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको छ। साथै घुसस्वरूप लिएको ३८ लाख ५० हजार १३९ रुपैयाँ सरकारी कोषमा जफत गर्न निर्देशन दिइएको छ।
महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसनका रूपमा उक्त रकम लिएको अदालतले ठहर गरेको छ। प्रतिवादी पक्षले रकम लिएको विषयमा विवाद नगरेकाले सोही रकमलाई भ्रष्टाचारको बिगो कायम गरिएको अदालतको निष्कर्ष छ।
अनुसन्धानका क्रममा उपभोक्ता समितिको खाताबाट रकम आफ्ना स्वकीय सचिव विनोदकुमार लाल कायस्थ मार्फत झिकेर सिंहले आफ्नो तथा श्रीमतीको संयुक्त खातामा जम्मा गरेको खुलेको थियो।
भ्रष्टाचार कसुर प्रमाणित भएपछि अदालतले कैद, जरिवाना, क्षतिपूर्ति र रकम जफत गर्ने आदेशसहित फैसला सुनाएको हो।

Leave a Comment