रसुवा बाढी : सुरुङबाट मात्रै एकैदिन १० शव फेला

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

रसुवा, भदौ ३१ । रसुवामा भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा एकैदिन विभिन्न जलविद्युत् आयोजनाका सुरुङबाट १० शव फेला परेका छन्।

चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खननका क्रममा विद्युत् गृह क्षेत्रबाट चारवटा शव र एउटा मानव अंग फेला परेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।
नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल, नेपाल विद्युत् प्राधिकरण तथा भारतीय सेनासहितको खोज तथा उद्धार टोलीले विद्युत् गृह क्षेत्रबाट शव निकालिएको हो।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले चिलिमे जलविद्युत् केन्द्र परिसरका भवन तथा पर्खालसमेत बगाएपछि सुरुङसमेत अवरुद्ध भएको थियो। प्रतिकूल अवस्थाका बाबजुद सुरुङमा प्रवेश गरी उद्धार टोलीले बेपत्ताको खोजीलाई निरन्तरता दिएको हो।

बाढी आएको दिन चिलिमे जलविद्युत् केन्द्रको बिहानी सिफ्टमा एक इन्जिनियर, दुई सुपरभाइजर, दुई चौकीदार र एक कार्यालय सहयोगीसहित छ जना कर्मचारी कार्यरत रहेको केन्द्रका वरिष्ठ सहायक कमलबहादुर खरेलले बताए।
सुरुङभित्र फसेका कर्मचारीको उद्धार तथा खोजी कार्यलाई सहज बनाउन नेपाली सेनाले सदरमुकाम धुन्चेमा हेलिकप्टरसमेत तयारी अवस्थामा राखेको छ।

यसैबीच, खोज तथा उद्धारमा खटिएको टोलीले अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलबाट पनि पाँच जनाको शव फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।
भोटेकोशीमा आएको बाढीपछि जलविद्युत् आयोजना तथा आसपासका क्षेत्रमा बेपत्ताको खोजीलाई सुरक्षा निकायले तीव्रता दिएको छ।

Leave a Comment