काठमाडौं, असोज १ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र इन्डोनेसियाबीचको खेल जापानको कोमाकीस्थित पार्क एरिनामा अपराह्न ४ बजे सुरु हुनेछ। प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको नेपाल इन्डोनेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अंक जोड्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजय बेहोरेको थियो। समूह ‘ए’ मा रहेको नेपाली टोलीका लागि आजको खेल अघिल्लो हारको निराशा बिर्साउँदै प्रतियोगितामा पुनरागमन गर्ने अवसरका रूपमा रहेको छ।
विश्व भलिबल महासंघको पछिल्लो विश्व वरीयताअनुसार इन्डोनेसिया ५३औँ स्थानमा छ भने नेपाल ६९औँ स्थानमा रहेको छ। वरीयतामा इन्डोनेसिया अगाडि रहे पनि नेपाली टोलीले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो लगातार दोस्रो सहभागिता हो। यसअघि सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालले ११औँ स्थान हासिल गरेको थियो।
आज इन्डोनेसियाविरुद्ध जित निकाल्दै नेपाल प्रतियोगितामा आफ्नो स्थिति सुधार गर्ने प्रयासमा हुनेछ।

