काठमाडौं, भदौ ३१ । सरकारले साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकले पाउने बीमा तथा क्षतिपूर्तिका लागि कानुनी प्रक्रिया अघि बढाउन आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साउदी अरबमा मृत्यु वा घाइते भएका नेपालीको बीमा तथा क्षतिपूर्ति रकम प्राप्तिका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा दिने र आवश्यक कानुनी कारबाही अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। उनका अनुसार बैठकले सरकारी कामकारबाहीलाई थप सरल तथा डिजिटल बनाउनेदेखि विभिन्न तहका कर्मचारीको बढुवासम्मका निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले ‘सरकारी निर्णय प्रक्रिया, सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्रमा अग्रिम करको व्यवस्था पनि गरिएको छ। प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ५ प्रतिशत अग्रिम कर कायम गर्ने निर्णय भएको छ।
बैठकले नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ।
यसैगरी ‘चक्रीय राहत कोष सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत गरिएको छ।
नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई पनि राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
यसरी बुधबारको मन्त्रिपरिषद् बैठकबाट कुल ६ वटा निर्णय सार्वजनिक गरिएको छ।

