कलैया, जेठ २१ । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री महम्मद समिर ले बारा जिल्लामा सञ्चालन भइरहेका विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा अघि बढाउन विशेष चासो दिएका छन्। पूर्वाधार विकास कार्यालय बारामा कार्यालय प्रमुखको रिक्तताका कारण केही प्रशासनिक प्रक्रिया प्रभावित भए पनि मन्त्रालयले तत्काल समाधानका लागि आवश्यक पहल गरिरहेको जनाएको छ।
बारा जिल्लामा चालु आर्थिक वर्षका लागि करिब १ अर्ब ३९ करोड रुपैयाँ बराबरका पूर्वाधार विकास योजना सञ्चालनमा रहेका छन्। ती योजनाहरू समयमै सम्पन्न गराउने उद्देश्यले मन्त्री समिरले मन्त्रालयका सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशन दिँदै व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन्।
मन्त्री समिरले पदभार ग्रहण गरेयता विकास निर्माणका कामलाई तीव्रता दिने, बजेट कार्यान्वयन बढाउने तथा जनताले प्रत्यक्ष लाभ पाउने योजनालाई प्राथमिकता दिने नीति अवलम्बन गर्दै आएका छन्। त्यसकै निरन्तरतास्वरूप बारामा देखिएको नेतृत्व अभावलाई पनि छिटो समाधान गरी विकासका कामलाई थप गतिशील बनाउने तयारी भइरहेको छ।
मन्त्रालय स्रोतका अनुसार कार्यालय प्रमुखको व्यवस्थापन सम्बन्धी प्रक्रिया अघि बढिसकेको छ। स्थायी व्यवस्थापन नहुँदासम्म कार्यालयका कर्मचारीहरूबाट नियमित सेवा प्रवाह र आवश्यक प्रशासनिक कार्य सञ्चालन भइरहेको छ। मन्त्रालयले कुनै पनि विकास योजना प्रभावित हुन नदिने गरी समन्वय र सहजीकरण गरिरहेको जनाएको छ।
बारा मन्त्री समिरको गृहजिल्ला भएकाले यहाँका विकास निर्माणका कामप्रति उनको विशेष चासो रहेको स्थानीयहरू बताउँछन्। सडक, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणका योजनालाई समयमै सम्पन्न गरी जनतालाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्यका साथ मन्त्रालय सक्रिय रहेको छ।
स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले पनि मन्त्री समिरले छोटो समयमै विकास निर्माणका मुद्दालाई प्राथमिकतामा राख्दै काम गरिरहेको उल्लेख गरेका छन्। उनीहरूले बाराको पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन मन्त्रालयबाट आवश्यक निर्णय चाँडै हुने विश्वास व्यक्त गरेका छन्।
असार मसान्त नजिकिँदै गर्दा बजेट कार्यान्वयन र योजना सम्पन्नताको चाप बढिरहेको अवस्थामा मन्त्री समिरको सक्रियताले बाराका विकास निर्माणका कामले थप गति लिने अपेक्षा गरिएको छ। मन्त्रालयले विकासलाई कुनै पनि हालतमा प्रभावित हुन नदिने प्रतिबद्धतासहित आवश्यक व्यवस्थापन कार्यलाई तीव्रता दिएको जनाएको छ।
बाराको पूर्वाधार विकासलाई तीव्रता दिन मन्त्री समिर सक्रिय, नेतृत्व व्यवस्थापन प्रक्रिया अन्तिम चरणमा
Leave a Comment
Leave a Comment






