३६ वर्षदेखि ‘हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ: गृहमन्त्री गुरुङ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, चैत २२ – गृहमन्त्री सुधन गुरुङले विगत ३६ वर्षदेखि ‘हतकडी’ अपराधीलाई नभई सुरक्षाकर्मीलाई लगाइएको जस्तो अवस्था रहेको टिप्पणी गरेका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले लामो समयसम्म सत्तामा रहेका राजनीतिक दलप्रति कटाक्ष गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।

उनले देशमा नयाँ सरकार गठन भएसँगै प्रहरीले भ्रष्टाचार तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने काम तीव्र बनाएको सन्दर्भमा उक्त टिप्पणी गरेका हुन्।

यसैबीच नेपाल प्रहरीले सेवा प्रवाहमा अवरोध पुर्‍याउने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिविरुद्ध विशेष अभियान सञ्चालन गरेको छ। काठमाडौं उपत्यकामा मात्र यस्ता गतिविधिमा संलग्न करिब १५० जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार बिचौलियाको रूपमा काम गर्ने, सर्वसाधारणलाई दुःख दिने तथा विभिन्न क्षेत्रमा गुन्डागर्दी गर्ने व्यक्तिहरूलाई लक्षित गरेर विशेष अपरेसन सञ्चालन गरिएको हो।

प्रहरीका अनुसार पछिल्लो एक सातामा देशभर करिब १८९ जनालाई पक्राउ गरिएको छ। सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउने, बसपार्क, विमानस्थल तथा यातायात कार्यालयमा बिचौलियाको काम गर्ने र विभिन्न स्थानमा असामाजिक गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिने अभियान जारी रहेको छ।

यसका साथै काठमाडौंका रात्रिकालीन व्यवसाय हुने क्षेत्रमा पनि निगरानी बढाइएको छ। सो क्रममा गुन्डागर्दीमा संलग्न १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी मुख्यालयका अनुसार देशभरका प्रहरी कार्यालयलाई आपराधिक गतिविधिमा संलग्न व्यक्तिविरुद्ध कडाइका साथ कारबाही गर्न निर्देशन दिइएको छ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठन भएको छ। सोही क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा पक्राउ गरिएको छ।

उनीहरू हाल प्रहरी हिरासतमा रहेका छन्।

Leave a Comment