रास्वपाका जिल्ला अधिवेशन सम्पन्न, काठमाडौंमा राजा शाक्यको नेतृत्व

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २४ जेठ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विभिन्न जिल्लामा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। काठमाडौं, धादिङ, सुनसरी र मकवानपुरमा नेतृत्व चयन गर्दै पार्टीले जिल्ला संगठनलाई पूर्णता दिएको हो।
काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्। कुल ४३८ मत खसेको निर्वाचनमा शाक्यले २५१ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी सुरेश सापकोटालाई पराजित गरे। उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन तथा सहसचिवमा सौरभ बस्नेत निर्वाचित भएका छन्।
जिल्ला सदस्यतर्फ बलराम कार्की, सम्शेरबहादुर श्रेष्ठ र केदारप्रसाद रैला विजयी भएका छन्। अधिवेशनमा ५२८ मतदातामध्ये ४३८ जनाले मतदान गरेका थिए।
यस्तै, धादिङ जिल्ला सभापतिमा राजन अर्याल निर्वाचित भएका छन्। उनले निवर्तमान सभापति सूर्यमणि पाठक र अर्का उम्मेदवार रामकुमार थपलियालाई पछि पार्दै नेतृत्व हात पारे। उपसभापतिमा श्रवण त्रिपाठी, सचिवमा राम भण्डारी र सहसचिवमा श्रीराम आचार्य निर्वाचित भए।
सुनसरीमा सागर दाहाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। प्रतिस्पर्धात्मक निर्वाचनमा उनले सर्वाधिक मत प्राप्त गर्दै नेतृत्व सम्हालेका हुन्। उपसभापतिमा राजेशमान श्रेष्ठ निर्वाचित हुँदा सचिवमा राजाराम कुमार मेहता र सहसचिवमा योगेन्द्र गिरी निर्विरोध चयन भएका छन्।
उता मकवानपुरमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको छ। सञ्जीव पाठकको नेतृत्वमा नयाँ जिल्ला समिति गठन भएको छ। समितिको उपसभापतिमा टाकाराज थापा, सचिवमा विशभ अधिकारी र सहसचिवमा शान्ति थापा चयन भएका छन्।
रास्वपाले देशभर जिल्ला संगठन विस्तार र सुदृढीकरण अभियानलाई तीव्रता दिँदै विभिन्न जिल्लामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिरहेको जनाएको छ।

Leave a Comment