ट्रम्पको दाबी– इजरायल र इरान युद्ध रोक्न तयार, शान्ति वार्ता अन्तिम चरणमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

वासिङ्टन, २६ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले इजरायल र इरानबीच बढ्दो सैन्य तनावका बीच दुवै देश तत्काल युद्धविरामका लागि इच्छुक रहेको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इजरायल र इरान दुवैले लडाइँ अन्त्य गरी शान्तिपूर्ण समाधान खोज्न चाहेको बताएका हुन्। उनले शान्तिसम्बन्धी वार्ता निर्णायक चरणमा पुगेको उल्लेख गर्दै दुवै पक्षलाई थप आक्रमण नगर्न आग्रह गरेका छन्।
दुई महिनाअघि भएको युद्धविरामपछि आइतबार दुवै देशबीच पुनः तनाव चर्किएको थियो। इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि इजरायली सेनाले इरानभित्रका सैन्य संरचनामाथि जवाफी आक्रमण गरेको जनाएको छ।
इजरायलले लेबनानस्थित इरान समर्थित समूह हेजबुल्लाह लाई लक्षित गरी आक्रमण गरेपछि क्षेत्रीय तनाव थप बढेको थियो। त्यसको प्रतिक्रियास्वरूप तेहरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसैबीच, अमेरिकी प्रशासनले मध्यपूर्वमा फैलिन सक्ने सम्भावित युद्ध रोक्न कूटनीतिक प्रयासलाई तीव्र बनाएको छ। आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा राष्ट्रपति ट्रम्पले पनि द्वन्द्व अन्त्यका लागि सक्रिय पहल गरिरहेको विश्लेषण गरिएको छ।
यद्यपि इजरायल र इरानका अधिकारीहरूले ट्रम्पको दाबीबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेका छैनन्। दुवै देशका पछिल्ला गतिविधिले भने क्षेत्रीय सुरक्षाप्रति अन्तर्राष्ट्रिय समुदायको चिन्ता बढाएको छ।

Leave a Comment