काठमाडौँ, जेठ ३० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान सुरु भएको छ। बिहान ११ बजेदेखि मतदान गर्ने तालिका रहे पनि प्रक्रिया केही ढिलो गरी सुरु भएको हो।
अधिवेशनमा करिब १ हजार ३ सय प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। प्रतिनिधि समायोजनका विषयमा देखिएको विवादपछि विवादित सूचीमा रहेका ४ सयमध्ये २१० जनालाई मतदानको अधिकार दिइएको छ।
निर्वाचन विद्युतीय मतदान प्रणालीमार्फत भइरहेको छ। मतदानका लागि १५ वटा बुथ व्यवस्थापन गरिएको छ। पहिलो चरणमा प्रदेश सभापति र प्रदेश समिति सदस्यका लागि मतदान हुनेछ भने त्यसपछि पदाधिकारी पदको निर्वाचन गरिने निर्वाचन समितिले जनाएको छ।
प्रदेश सभापति पदका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री चुनावी मैदानमा छन्। पार्टीभित्रको आन्तरिक समीकरणअनुसार डा. लामिछाने र अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
हाल डा. लामिछाने प्रदेश सभापतिको जिम्मेवारीमा छन् भने अर्याल प्रदेश प्रवक्ताको भूमिकामा रहेका छन्। दुवै पक्षले आफ्ना समर्थकहरूको समूह बनाएर चुनावी तयारी गरिरहेको बताइएको छ।
रास्वपाको प्रदेश संरचनाअन्तर्गत सभापति, उपसभापति, महामन्त्री तथा दुई सहमहामन्त्री पद निर्वाचनबाट चयन हुने व्यवस्था छ। प्रवक्ता र कोषाध्यक्ष भने नेतृत्वले पछि मनोनयन गर्ने प्रावधान रहेको छ।
रास्वपाको बागमती प्रदेश नेतृत्व चयनका लागि मतदान सुरु
Leave a Comment
Leave a Comment






