डिजेलको मूल्य घटाउने प्रयासमा ट्रम्प, कर छुटको ‘रातो डिजेल’ सडकमा प्रयोग गर्न अनुमति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 4 मिनेट

वासिङ्टन, असोज २०-अमेरिकामा डिजेलको मूल्य अस्वाभाविक रूपमा बढेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई केही हदसम्म नियन्त्रण गर्ने उद्देश्यले नयाँ कार्यकारी आदेश जारी गरेका छन्।

ट्रम्पले सोमबार राति हस्ताक्षर गरेको आदेशअनुसार यसअघि कृषि, निर्माण तथा अन्य गैरराजमार्ग प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको कर छुटको ‘रातो डिजेल’ अब अस्थायी रूपमा राजमार्गमा चल्ने सवारीसाधनमा समेत प्रयोग गर्न सकिने भएको छ।

अमेरिकामा रातो रङ लगाइएको डिजेल र सामान्य डिजेलको गुणस्तरमा खासै फरक हुँदैन। मुख्य अन्तर भनेको रातो डिजेलमा संघीय इन्धन कर नलाग्नु हो। यसअघि यस्तो इन्धन ट्र्याक्टर, निर्माण उपकरणलगायत गैरराजमार्ग प्रयोजनमा सीमित थियो।

ट्रम्पले नेब्रास्कामा आयोजित चुनावी कार्यक्रममा नयाँ व्यवस्थाले ट्रक चालक, किसान तथा सर्वसाधारणलाई राहत पुग्ने दाबी गरेका छन्। कर छुटको डिजेल प्रयोग बढेमा ढुवानी खर्च घट्ने र त्यसको प्रभाव खाद्यान्नलगायत उपभोग्य वस्तुको मूल्यमा समेत पर्न सक्ने उनको भनाइ छ।

अमेरिकामा राजमार्गमा प्रयोग हुने डिजेलमा प्रतिग्यालन २४.४ सेन्ट संघीय कर लाग्छ। यसबाहेक राज्यअनुसार थप कर लिइन्छ, जसको औसत दर प्रतिग्यालन ३५.५ सेन्ट रहेको तथ्यांक छ।

डिजेलको मूल्य दोब्बर नजिक

अमेरिकामा पछिल्लो समय डिजेलको मूल्यमा तीव्र वृद्धि भएको छ। एएएका अनुसार इरान युद्ध सुरु हुनुअघि प्रतिग्यालन ३.७६ डलर रहेको डिजेलको मूल्य सेप्टेम्बर २२ सम्म आइपुग्दा ६.५३ डलर पुगेको थियो। सोमबार यसको राष्ट्रिय औसत मूल्य ६.३२ डलर प्रतिग्यालन थियो।

१८ पांग्रे एउटा ट्रकमा करिब २५० ग्यालोन डिजेल भर्दा अहिले झन्डै १ हजार ५७५ डलर खर्च हुन्छ। कर छुट भएको डिजेल प्रयोग गर्न पाउने अवस्था बनेमा संघीय तथा राज्य करबाट मात्रै करिब १५० डलरसम्म बचत हुन सक्ने अनुमान गरिएको छ।

यसअघि टेक्सास, ओक्लाहोमा र अलाबामासहित १० राज्यले पनि राजमार्गमा चल्ने सवारीमा कर छुटको डिजेल प्रयोग सहज बनाउने निर्णय गरिसकेका छन्। सेप्टेम्बर २३ देखि अक्टोबर २ बीचमा ती राज्यले यस्तो व्यवस्था लागू गरेका हुन्। ती राज्यको हिस्सा अमेरिकाको कुल डिजेल बिक्रीमा करिब एक तिहाइ रहेको बताइएको छ।

विज्ञ भन्छन्– कर हटाउँदैमा समस्या समाधान हुँदैन

इन्धन बजारका विश्लेषकहरूले भने ट्रम्पको निर्णयले तत्काल केही राहत दिए पनि डिजेलको मूल्यवृद्धिको मूल कारण सम्बोधन नगर्ने बताएका छन्।

ग्यासबडीका पेट्रोलियम विश्लेषक प्याट्रिक डी हानका अनुसार विभिन्न राज्य हुँदै यात्रा गर्ने ट्रकका लागि राज्यपिच्छे फरक नियम लागू हुन सक्ने भएकाले नयाँ व्यवस्था कार्यान्वयन गर्न चुनौतीपूर्ण हुन सक्छ।

उनका अनुसार कर छुटको डिजेलमा पहुँच बढाउनु सकारात्मक कदम भए पनि यसले रातारात डिजेलको समस्या समाधान गर्ने अवस्था छैन।

अमेरिकामा यस वर्ष डिजेलको मूल्य करिब ७७ प्रतिशतले बढिसकेको छ। पछिल्लो उच्च मूल्यबाट केही कमी आए पनि सन् २००० यता एएएले तथ्यांक राख्न थालेपछि देखिएको सबैभन्दा ठूलो वार्षिक मूल्यवृद्धिमध्ये एक हुने दिशामा डिजेलको मूल्य अघि बढिरहेको छ।

विश्लेषकहरूले मूल्यवृद्धिको प्रमुख कारण इन्धन कर नभई विश्वव्यापी रिफाइनरी क्षमतालाई मानेका छन्। मध्यपूर्व तथा रुसका केही रिफाइनरीमा युद्धका कारण क्षति पुगेको छ भने चीनले घरेलु आपूर्ति सुरक्षित राख्न इन्धन निर्यात घटाएको छ।

अमेरिकी रिफाइनरीहरूले विश्व बजारमा देखिएको अभाव पूर्ति गर्न उत्पादन बढाउने प्रयास गरिरहेका छन्। तर ती रिफाइनरीहरू अहिले नै उच्च क्षमतामा सञ्चालन भइरहेकाले तत्काल ठूलो परिमाणमा उत्पादन थप्न कठिन रहेको विज्ञहरूको भनाइ छ।

लिपोव आयल एसोसिएट्सका अध्यक्ष एन्डी लिपोवका अनुसार कर हटाउँदा उपभोक्ताले छोटो अवधिमा केही आर्थिक लाभ पाए पनि यसबाट विश्वव्यापी इन्धन अभावको मूल समस्या समाधान हुँदैन।

यसैबीच युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमाथिको आक्रमणलाई निरन्तरता दिने संकेत दिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको तेल प्रशोधन पूर्वाधारलाई लक्षित गर्ने अभियान जारी राख्ने बताएका छन्। यसले विश्व बजारमा डिजेल तथा अन्य पेट्रोलियम पदार्थको आपूर्तिमा थप दबाब पर्न सक्ने अनुमान गरिएको छ।

ट्रम्पले भने नयाँ व्यवस्थाबाट डिजेलको मूल्य छिट्टै घट्ने दाबी गरेका छन्। कार्यकारी आदेश कति अवधिसम्म लागू रहने भन्ने स्पष्ट नभए पनि लामो समयसम्म यस्तो उपाय आवश्यक नपर्ने उनको विश्वास छ।

Leave a Comment