काठमाडौं, जेठ ३१ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव अन्त्य गर्न तयार गरिएको सम्झौतामा आइतबार नै हस्ताक्षर हुनसक्ने बताएका छन्। तर इरानले भने सम्झौता अन्तिम चरणमा पुगे पनि आजै हस्ताक्षर हुने सम्भावना नरहेको जनाएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सम्झौता सम्पन्न भएपछि विश्व व्यापारका लागि महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज जलमार्ग खुला रहने दाबी गरेका छन्। साथै, इरानको आणविक कार्यक्रमसम्बन्धी विषयमा पनि महत्वपूर्ण सहमति हुने संकेत दिएका छन्।
सम्झौताका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले दुवै पक्षबीचको वार्ता सकारात्मक रहेको र छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको जनाएको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार आवश्यक प्राविधिक तयारीसमेत भइरहेको छ।
यता, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सम्झौताबारे भइरहेको चर्चा समयअघि नै गरिएको बताएका छन्। उनका अनुसार वार्ता जारी रहे पनि आइतबार नै हस्ताक्षर हुने कुनै निश्चित निर्णय भएको छैन।
इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिका र पश्चिमी राष्ट्रहरूले लामो समयदेखि प्रश्न उठाउँदै आएका छन्। उनीहरूले इरानमाथि आणविक हतियार विकासको प्रयास गरेको आरोप लगाउने गरेका छन्। इरानले भने आफ्नो कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको दाबी गर्दै आएको छ।
ट्रम्पले वार्ता सफल नभए अन्य विकल्प पनि खुला रहेको संकेत दिएका छन्। यद्यपि उनले समस्या कूटनीतिक माध्यमबाटै समाधान होस् भन्ने चाहना व्यक्त गरेका छन्।
वार्तामा प्रगति भएको संकेत देखिए पनि समझदारी कहिले औपचारिक रूपमा सार्वजनिक हुन्छ भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन।
इरान–अमेरिका समझदारी नजिक, हस्ताक्षर मितिमा मतभेद
Leave a Comment
Leave a Comment






