काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि अघि सारेको १५ बुँदे शान्ति योजनालाई अस्वीकार गरेका छन्।
आइतबार बसेको इजरायली मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पारे।
उनले १५ बुँदे प्रस्ताव इजरायललाई स्वीकार्य नरहेको बताउँदै इजरायली सेना तथा नागरिकमाथि हुन सक्ने सुरक्षा जोखिम अन्त्य नभएसम्म सैन्य कारबाही र सुरक्षा प्रयास जारी रहने बताएका छन्।
ट्रम्पको ‘बोर्ड अफ पिस’ले गत महिना गाजामा हमाससहितका सशस्त्र समूहलाई पूर्ण रूपमा निशस्त्रीकरण गर्ने विषयमा सहमति बनेको दाबी गरेको थियो। तर, हमासले भने इजरायलले सबै प्रकारका आक्रमण रोक्नुपर्ने र गाजाबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने सर्तमा मात्र हतियार त्याग्ने संकेत दिएको छ।
हमासका एक अधिकारीले बीबीसीसँग कुरा गर्दै समूह १५ बुँदे योजनाप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्न तयार रहेको बताएका छन्। उनले योजनाका विषयमा गम्भीर र जिम्मेवार ढंगले अघि बढ्न तयार रहेको जनाउँदै मध्यस्थकर्ताहरूलाई सबै पक्षले सहमति गरेका विषय कार्यान्वयन हुने सुनिश्चित गर्न आग्रह गरेका छन्।
गत वर्ष सेप्टेम्बरमा सार्वजनिक गरिएको ट्रम्पको गाजा शान्ति योजनामा युद्ध अन्त्य, हमासको निशस्त्रीकरण, इजरायली सेनाको फिर्ती तथा गाजाको पुनर्निर्माणलगायत विषय समेटिएका थिए। योजनाको कार्यान्वयनको निगरानीका लागि ‘बोर्ड अफ पिस’ गठन गर्ने प्रस्तावसमेत गरिएको थियो।
तर, इजरायलले पछिल्लो पटक योजना अस्वीकार गरेपछि गाजामा दीर्घकालीन शान्ति कायम गर्ने प्रयास थप जटिल बन्ने देखिएको छ।
नेतन्याहूद्वारा ट्रम्पको गाजासम्बन्धी १५ बुँदे योजना अस्वीकार
Leave a Comment
Leave a Comment

