कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा तीन प्रमुख आकांक्षी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न आज निर्वाचन प्रक्रिया अघि बढाउँदैछ। लामो समयदेखि सहमति जुट्न नसकेपछि पार्टीले औपचारिक मतदानमार्फत नेतृत्व टुंग्याउने निर्णय गरेको हो।
निर्वाचन कार्यतालिका अनुसार आज अपराह्न ३ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुनेछ। निर्वाचन समितिले ४ः४० बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने साँझ ५ बजेदेखि मतदान प्रक्रिया सुरु हुने जनाएको छ।
यसअघि नै गठन गरिएको निर्वाचन समितिले संसदीय दलको विधान पारित गरिसकेको छ, जसले नेतृत्व चयनको प्रक्रिया स्पष्ट बनाएको छ। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फ गरी ३८ सिट जितेको थियो। अन्य दलहरूले संसदीय दलको नेता चयन गरिसके पनि कांग्रेसमा भने आन्तरिक सहमति नजुट्दा प्रक्रिया ढिला भएको हो।
नेतृत्वका लागि मुख्यतः अर्जुन नरसिंह केसी, भिष्मराज आङ्दाङ्बे र मोहन आचार्य आकांक्षीका रूपमा देखिएका छन्। यद्यपि केसीले निर्वाचनको अवस्था आए उम्मेदवारी नदिने संकेत दिँदै आएका छन्।
धेरै आकांक्षीका कारण सहमति जुट्न नसकेको कांग्रेसभित्र आजको निर्वाचनले संसदीय दलको नेतृत्व टुंग्याउने अपेक्षा गरिएको छ।

Leave a Comment