काठमाडौं, असार ४ — अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित दुवै देशले ऐतिहासिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्। यससँगै लामो समयदेखिको तनाव कम हुने र शान्ति प्रक्रियाले नयाँ गति लिने अपेक्षा गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियान ले डिजिटल माध्यमबाट समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। दुवै देशका सरकारी निकायले सम्झौताको पुष्टि गरेका छन्।
समझदारीपछि अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सञ्चालन भइरहेका सैन्य गतिविधि औपचारिक रूपमा रोकिने विश्वास गरिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेई का अनुसार दस्तावेजमा डिजिटल हस्ताक्षर भइसकेकाले स्विट्जरल्यान्डको जेनेभामा हुने भनिएको वार्तामा प्रतिनिधिहरू सहभागी भए पनि छुट्टै हस्ताक्षर समारोह आयोजना गरिने छैन।
सम्झौताअनुसार आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रमलगायतका विषयमा अन्तिम र व्यापक सहमति जुटाउने प्रयास गरिनेछ। यस अवधिलाई दुवै पक्षबीच विश्वास निर्माण र दीर्घकालीन समाधानको आधारका रूपमा हेरिएको छ।
यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले समझदारीको कार्यान्वयन नभए वा वार्ता निष्कर्षमा पुग्न नसके पुनः सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्। उनले सहमति पालना नगरे कडा कदम चालिने बताएका छन्।
सम्झौतासँगै युद्धबाट प्रभावित इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलर बराबरको विशेष कोष स्थापना गर्ने प्रस्ताव पनि अघि सारिएको छ। उक्त कोषमा इरानका छिमेकी तथा साझेदार राष्ट्रहरूले लगानी गर्ने र त्यसलाई पूर्वाधार पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानमा प्रयोग गरिने जनाइएको छ।
विश्लेषकहरूले अमेरिका–इरान समझदारीलाई मध्यपूर्व क्षेत्रमा शान्ति स्थापना र स्थायित्वतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन्। यदि सम्झौता सफल कार्यान्वयन भयो भने यसले क्षेत्रीय राजनीतिक तथा सुरक्षा वातावरणमा सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।
अमेरिका–इरानबीच युद्ध अन्त्यको समझदारी, पुनर्निर्माणका लागि ३०० अर्ब डलरको योजना
Leave a Comment
Leave a Comment






