भोटेकोशी बाढीपछि सुरुङभित्रको उद्धार सबैभन्दा चुनौतीपूर्ण : नेपाली सेना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 5 मिनेट

काठमाडौं, असोज ११ — रसुवाको भोटेकोशी बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानमा जलविद्युत् आयोजनाका लेदो र चट्टानले पुरिएका सुरुङभित्रको उद्धार कार्य सबैभन्दा जोखिमपूर्ण र चुनौतीपूर्ण रहेको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार तीव्र रूपमा परिवर्तन भइरहेको मौसम, पहाडी तथा साँघुरा उडान क्षेत्र, सीमित हेलिप्याड, सञ्चार अवरोध, नदीको अनिश्चित बहाव, लगातारको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानका बीच उद्धार अभियान सञ्चालन गरिएको थियो।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भोटेकोशी बाढीले विपद् व्यवस्थापनमा विभिन्न निकायबीचको समन्वय र उच्च जोखिममा काम गर्ने क्षमताको आवश्यकता थप स्पष्ट पारेको बताए।
बाढीपछि एक महिनासम्म सञ्चालन गरिएको खोज तथा उद्धार, स्वास्थ्य सेवा र पूर्वाधार पुनःस्थापनासम्बन्धी विवरण सार्वजनिक गर्दै सेनाले ९ हजार ३०० भन्दा बढी सैनिक परिचालन गरिएको जनाएको छ। खोज तथा उद्धारका लागि क्विक रियाक्सन टिम तथा आपत्कालीन मेडिकल टिमसहित हेलिकप्टरसमेत परिचालन गरिएको थियो।
सडक सम्पर्क अवरुद्ध भएका कारण हवाई उद्धारलाई प्राथमिकता दिइएको थियो। एमआई–१७ सहित सातवटा सैनिक हेलिकप्टर तथा निजी क्षेत्रका हवाई साधन प्रयोग गरी त्रिशूली र धुन्चेबाट नियमित उडान सञ्चालन गरिएको सेनाले जनाएको छ।
उक्त हवाई उद्धार अभियानबाट ४ हजार २४२ जनाको सकुशल उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये ३ हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी नागरिक रहेका छन्। प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, रासन तथा अक्सिजन सिलिन्डरसमेत हवाई तथा ड्रोनमार्फत पुर्‍याइएको थियो।
जमिनी खोज तथा उद्धारका क्रममा नदी किनार, जङ्गल, पहाडी क्षेत्र र बाढी तथा पहिरोबाट प्रभावित बस्तीमा पैदल गस्ती सञ्चालन गरिएको थियो। थर्मल ड्रोन तथा अन्य आधुनिक उपकरणको प्रयोग गरी सम्भावित स्थानको पहिचान गरिएको सेनाले जनाएको छ। उत्खनन तथा खोजीका क्रममा फेला परेका १ हजार ४५१ शवको व्यवस्थापनमा सेनाले सहयोग गरेको थियो।
सेनाका अनुसार जलविद्युत् आयोजनाका सुरुङमा भएको उद्धार अभियान भने सबैभन्दा कठिन थियो। विभिन्न आयोजनाका पुरिएका सुरुङबाट निरन्तर प्रयासपछि सात जनालाई जीवितै उद्धार गरिएको जनाएको छ।
त्रिशूली–३ ‘ए’ आयोजनामा ड्रिलिङ मेसिन, एक्स्काभेटर, रक ब्रेकर तथा नियन्त्रित विस्फोटको प्रयोग गरी सुरुङको अवरोध हटाएर अक्सिजन पठाइएको थियो। त्यस क्रममा भदौ १९ गते सुरुङभित्र फसेका दुई जनालाई जीवितै उद्धार गरिएको थियो।
त्यस्तै, माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट सुरुङबाट करिब २२५ मिटर गहिराइमा फसेका चिनियाँ नागरिकलाई रबर बोट र थर्मल क्यामेराको सहायताले उद्धार गरिएको थियो। सो क्षेत्रमा ३७ वटा शवसमेत संकलन गरिएको सेनाले जनाएको छ।
चिलिमे सुरुङमा करिब १ हजार ५० मिटर वैकल्पिक बाटो तयार गरी ब्रेकथ्रु गरेपछि पाँचवटा शव तथा मानव अङ्ग संकलन गरिएको थियो। रसुवागढी र त्रिशूली–३ ‘बी’ आयोजनामा पनि उत्खनन तथा खोजी अभियान सञ्चालन गरिएको थियो। केही मित्रराष्ट्रका जनशक्ति र प्रविधिसमेत नेपाली सेनासँग सहकार्यमा परिचालन भएका थिए।
बाढी प्रभावितको स्वास्थ्य उपचारलाई पनि सेनाले प्राथमिकतामा राखेको जनाएको छ। त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन गरी ४ हजार ३ जनालाई प्रत्यक्ष चिकित्सा सेवा प्रदान गरिएको थियो। गम्भीर अवस्थामा भेटिएका घाइतेलाई हेलिकप्टरबाट काठमाडौंस्थित वीरेन्द्र अस्पताल पुर्‍याएर उपचार गरिएको थियो।
विस्थापित नागरिकका लागि बनाइएका अस्थायी आवास तथा होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सम्भावित महामारी रोक्न स्थानीय निकायसँगको सहकार्यमा निसङ्क्रमण अभियानसमेत सञ्चालन गरिएको थियो।
बाढीपछि अवरुद्ध पूर्वाधार पुनः सञ्चालनमा पनि सेनाले काम गरेको जनाएको छ। नुवाकोटको देवीघाटस्थित तादी नदीमा करिब ६० मिटर लामो र ६० टन भार क्षमता भएको एक्रो ब्रिज पाँच दिनको निरन्तर प्रयासपछि जडान गरिएको थियो। उक्त पुल भदौ २५ गतेदेखि सञ्चालनमा आएको सेनाले जनाएको छ।
स्याफ्रुबेँसी–चिलिमे तथा इन्द्रेणी घाट क्षेत्रमा तुइन र काठका अस्थायी फट्के निर्माण गरिएको थियो। बेत्रावती क्षेत्रमा बेलीब्रिज निर्माणका लागि आवश्यक पहुँचमार्ग तयार गर्ने कामसमेत अघि बढाइएको सेनाले जनाएको छ।
नेपाली सेनाले भोटेकोशी बाढीपछिको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तह र स्थानीय समुदायबीचको समन्वयलाई महत्त्वपूर्ण पक्षका रूपमा उल्लेख गरेको छ।
सेनाका अनुसार आफ्नै परिवार तथा सैनिकसमेत बाढीबाट प्रभावित भएको अवस्थामा पनि उद्धार टोलीले नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राखेर काम गरेको थियो। विशेषगरी जोखिमपूर्ण सुरुङभित्र गहिराइसम्म प्रवेश गरी जीवित व्यक्तिको उद्धार गर्न सफल हुनु विपद् प्रतिकार्यमा महत्वपूर्ण अनुभव बनेको सेनाको निष्कर्ष छ।

Leave a Comment