काठमाडौं, असोज ११ — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। उनलाई काठमाडौंको महाराजगन्जस्थित आफ्नै निवासबाट गएराति प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा जबरालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन्। तर, उनीविरुद्ध परेको उजुरीको विषय र आरोपसम्बन्धी विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन।
जबराले २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालका क्रममा २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो।
महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। उक्त प्रस्ताव पारित नभए पनि उनी सर्वोच्च अदालतमा पुनः फर्किन पाएनन्। अन्ततः निलम्बित अवस्थामै उनको प्रधानन्यायाधीशको कार्यकाल समाप्त भएको थियो।
पक्राउपछि जबरामाथि परेको उजुरी, अनुसन्धानको प्रकृति र अबको कानुनी प्रक्रियाबारे प्रहरीले थप विवरण सार्वजनिक गर्न बाँकी रहेको छ।

