चिया श्रमिक र किसानको समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको कडा निर्देशन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार ४ — राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूले भोगिरहेका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार बसेको समितिको बैठकमा चिया क्षेत्रको पछिल्लो अवस्थाबारे छलफल गर्दै समिति सभापति कृष्णप्रसाद पौडेल ले चिया किसान र श्रमिकका समस्या लामो समयदेखि समाधान हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
समितिले चिया क्षेत्रसँगै अलैँची, सुपारी, बेसार, अदुवा र कफीजस्ता नगदेबाली उत्पादन गर्ने किसानले पनि उचित मूल्य र भरपर्दो बजार नपाएको निष्कर्ष निकाल्दै मूल्य निर्धारण तथा बजार व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
सभापति पौडेलले नगदेबालीको उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापन कमजोर हुँदा किसानहरू मर्कामा परेको उल्लेख गर्दै चालु अधिवेशनभित्रै बजार व्यवस्थापनसम्बन्धी कानुन ल्याउन सरकारलाई सुझाव दिएका छन्।
यता चिया निर्यातमा देखिएको समस्याका कारण इलामसहित देशका विभिन्न जिल्लामा सञ्चालित चिया उद्योगहरू चार दिनदेखि बन्द छन्। उद्योग बन्द हुँदा किसान, श्रमिक र व्यवसायी सबै प्रभावित बनेका छन्।
समितिले चिया क्षेत्रको संकटले हजारौं श्रमिकको रोजगारी र किसानको आयमा प्रत्यक्ष असर पारेको भन्दै समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारलाई निर्देशन दिएको जनाएको छ।

Leave a Comment