चिसापानीगढी दुर्घटनाका मृतकका परिवारले शव बुझ्न मानेनन्, क्षतिपूर्ति र रोजगारीको माग

पढ्न लाग्ने समय : 1 मिनेट

मकवानपुर, २७ कात्तिक। मकवानपुरको भीमफेदी गाउँपालिका–चिसापानीगढीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १४ जनाका परिवारले क्षतिपूर्ति, घाइतेको उपचार खर्च र रोजगारीको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्।

मृतकका परिवार तथा आफन्तले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।

दुर्घटनामा मृत्यु भएका १४ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ। मृतकका आफन्तहरू आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडानसहित अस्पतालमै बसेका छन्।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार प्रशासनले पीडित परिवारलाई कानुनले तोकेअनुसारको क्षतिपूर्ति उपलब्ध गराउने जानकारी गराएको छ। तर, पीडित परिवारले थप क्षतिपूर्तिको माग गरिरहेका छन्।
प्रशासनले चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक अवस्था उल्लेख गर्दै मृतकका परिवारलाई राजनीतिक स्वार्थका कारण उक्साउने काम भइरहेको आशंका गरेको छ।
प्रहरीका अनुसार मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनाका बेला गाडीमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
घाइतेहरूको हेटौँडा, भरतपुर र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Leave a Comment