अमेरिकामा ह्वाइट हाउसनजिक गोलीकाण्ड : आक्रमणकारीसहित दुई जनाको मृत्यु, चार घाइते

पढ्न लाग्ने समय : 2 मिनेट

वासिङ्टन डीसी, २७ कात्तिक। अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै बिहीबार भएको गोलीकाण्डमा आक्रमणकारीसहित दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

वासिङ्टन डीसी प्रहरीका प्रवक्ताले बीबीसीलाई दिएको जानकारीअनुसार गोली चलाउने व्यक्तिसहित दुई जनाको मृत्यु भएको हो। घटनापछि आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले आक्रमणकारीले आफैँलाई गोली हानेको हुनसक्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेका छन्।

वासिङ्टन डीसीका अन्तरिम प्रहरी प्रमुख जेफ्री डब्लु. क्यारोलका अनुसार घटनाको सूचना पाएलगत्तै प्रहरी ३० सेकेन्डभित्रै घटनास्थल पुगेको थियो। ह्वाइट हाउसबाट करिब १.६ किलोमिटर टाढा रहेको क्षेत्रमा गोली चलेको हो।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार आक्रमणकारीले सुरुमा एउटा फिटनेस सेन्टरभित्र प्रवेश गरी एक व्यक्तिमाथि गोली प्रहार गरेका थिए। त्यसपछि उनी बाहिर निस्किएर पार्किङ ग्यारेजमा समेत गोली चलाएका थिए। त्यहाँ अर्को एक व्यक्ति गोली लागेर घाइते भएका थिए।गोली चलेपछि आसपासको क्षेत्रमा भागदौड मच्चिएको थियो। ज्यान जोगाउन मानिसहरू नजिकैका पसल र घरभित्र लुकेका थिए। घटनालगत्तै प्रहरीले क्षेत्रलाई घेराबन्दी गर्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको थियो।

प्रहरीले स्थानीय समयअनुसार बिहीबार बिहान करिब ८ बजे गोली चलेको सूचना प्राप्त गरेको जनाएको छ। घाइते चारै जनालाई उपचारका लागि अस्पताल लगिएको छ। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रहरीका अनुसार गोली चलाउने व्यक्ति गोरा पुरुष हुन्। प्रारम्भिक अनुसन्धानमा उनको अपार्टमेन्ट भवनको घरधनी संघसँग विवाद रहेको हुनसक्ने आशंका गरिएको छ।

यद्यपि, गोली चलाउनुको वास्तविक कारण अझै पुष्टि भएको छैन। अनुसन्धानकर्ताहरूले घटनाको पृष्ठभूमि, सम्भावित विवाद र आक्रमणको उद्देश्यबारे थप अनुसन्धान गरिरहेका छन्।

Leave a Comment