जनकपुरधाम, २८ कात्तिक। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सरकारलाई समर्थन दिएका दुई प्रमुख दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकार जोगाउन मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन्। उक्त बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहनेछ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार नै प्रदेशसभा सचिवालयमा औपचारिक पत्र पठाइसकेका छन्। आवश्यक बहुमत जुटाउन उनी विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल र संवादमा सक्रिय छन्।
मुख्यमन्त्री यादवले मतदान हुनुअघिसम्म पनि राजनीतिक सहमति जुटाउने प्रयास जारी रहने बताएका छन्।
नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका नेकपा (एमाले) का चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसपछि नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए।
दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको हो।
१०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा (एमाले) का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद रहेका छन्।
कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई बहुमत पुर्याउन थप ३२ सांसदको समर्थन आवश्यक छ। शनिबार हुने मतदानबाट मधेश प्रदेश सरकारको भविष्य निर्धारण हुने देखिएको छ।

