सर्लाही, २७ कात्तिक। मकवानपुरको चिसापानीगढीमा बिहीबार बिहान भएको भीषण हायस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १४ जनाको शव शुक्रबार गृह जिल्ला ल्याइँदै छ।
मृतकमध्ये एकै गाउँका १३ जना रहेका छन्। घटनापछि शोकमा डुबेको सुन्दरपुर गाउँमा सामूहिक अन्त्येष्टिको तयारी गरिएको छ।
चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवका अनुसार सबै १४ जनाको शवको पोस्टमार्टम राति नै सम्पन्न भएको छ।
मृतकका परिवारले पाउने क्षतिपूर्तिका विषयमा शुक्रबार बिहान छलफल भइरहेको र त्यसपछि शव लिएर सर्लाहीतर्फ प्रस्थान गर्ने तयारी गरिएको छ।
दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जना र कविलासी नगरपालिकाका एक जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा अवधेश यादवकी २८ वर्षीया श्रीमती पुनम यादवको मृत्यु भएको छ। उनी आठ महिनाकी गर्भवती थिइन्। दुर्घटनामा उनका पाँच वर्षीया छोरी दीपिका, सात वर्षीया दीक्षा र १० वर्षीया अनुकुमारीको समेत ज्यान गएको छ। त्यस्तै, अवधेशका २६ वर्षीय भाइ विकेश यादव र १७ वर्षीय सुधेश यादवको पनि मृत्यु भएको छ।
मृत्यु हुने अन्यमा हायस चालक कविलासी नगरपालिका–८, अगर्बाका ३० वर्षीय रविशंकरकुमार मण्डल तथा सुन्दरपुरका ३५ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री यादव, २६ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव, ३५ वर्षीय राकेश यादव र २८ वर्षीय छोटु राय भनिने रामप्रसाद राय यादव रहेका छन्।
एकै गाउँका १३ जनाको ज्यान गएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ। छठ पर्वका कारण अन्यत्र उल्लास र उत्साहको वातावरण रहे पनि सुन्दरपुरमा भने शोक र रुवाबासी छाएको छ।
गाउँपालिका अध्यक्ष यादवका अनुसार सुन्दरपुरका १३ जनाको एकै स्थानमा सामूहिक अन्त्येष्टि गर्ने तयारी भइरहेको छ। शव सर्लाही पुगेपछि अन्त्येष्टिको प्रक्रिया अघि बढाइनेछ।
छठ मनाउन घर फर्कंदै गरेका यात्राको गाडी ५०० मिटर तल खस्यो
छठ पर्व मनाउन यात्रु बोकेर सर्लाहीबाट काठमाडौँ गएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हायस दुर्घटनामा परेको थियो। बिहीबार बिहान करिब पौने ६ बजे काठमाडौँ–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत चिसापानीगढीमा पुग्दा गाडी सडकबाट करिब ५०० मिटर तल दुर्गम भिरमा खसेको थियो।
दुर्घटनामा घाइते भएका सुन्दरपुरकै तीन वर्षीय सुजन यादवलाई काठमाडौँ, ३१ वर्षीय देवेन्द्र यादवलाई भरतपुर र १४ महिनाका सुदीप यादवलाई काठमाडौँ रेफर गरिएको छ।
त्यस्तै, ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव हेटौँडामा उपचारपछि डिस्चार्ज भइसकेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परेको हायस बुधबार राति सर्लाहीबाट यात्रु लिएर काठमाडौँ गएको थियो। काठमाडौँमा यात्रु ओरालेपछि सुन्दरपुरका यात्रु लिएर पुनः सर्लाही फर्किने क्रममा दुर्घटनामा परेको हो।
दुर्घटनामा हायस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनापछि चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदासमेत दिएको छ।

