एनपीएलमा आज दुई महत्वपूर्ण खेल, काठमाडौं र सुदूरपश्चिमबीच शीर्ष दुईको भिडन्त

पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं, २७ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज शुक्रबार दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दा दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्। दुवै खेलले प्लेअफ समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा काठमाडौं र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ। समान ८ अंक जोडेर अंकतालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका यी दुवै टोली जित निकाल्दै प्लेअफ यात्रा सुरक्षित गर्ने लक्ष्यमा छन्।
काठमाडौं गोर्खाजले पाँच खेलबाट चार जित र एक हारसहित ८ अंक जोडेको छ। प्रतियोगिताको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको काठमाडौंले त्यसपछि लगातार चार खेल जितेको छ। उसले कर्णाली याक्सलाई ४ विकेट, विराटनगर किङ्सलाई ९ विकेट, लुम्बिनी लायन्सलाई ३६ रन र पछिल्लो खेलमा चितवन राइनोजलाई १० रनले हराएको थियो।
एक खेल कम खेलेर पनि राम्रो नेट रनरेट बनाएको काठमाडौं आजको खेल जित्दै शीर्ष दुईमा आफ्नो स्थान बलियो बनाउन चाहन्छ।
यता, दुईपटक उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ६ खेलबाट चार जित र दुई हारसहित ८ अंक जोडेको छ। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पुनरागमन गरेको थियो। त्यसपछि विराटनगर किङ्ससँग ३५ रनले पराजित भए पनि चितवन राइनोजलाई ५ विकेट, कर्णाली याक्सलाई ३९ रन र जनकपुर बोल्ट्सलाई २७ रनले हराएको थियो।
आजको खेल जिते सुदूरपश्चिमको प्लेअफ यात्रा थप सुरक्षित हुनेछ।
जनकपुर र चितवनका लागि महत्वपूर्ण प्रतिस्पर्धा
आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। प्लेअफमा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई जित आवश्यक छ।
सिकन्दर राजाको कप्तानीमा रहेको चितवनले पाँच खेलबाट पाँच अंक जोडेको छ। पहिलो खेलमा विराटनगर किङ्सलाई ८ रनले हराएको चितवनले वर्षाका कारण लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो। त्यसपछि सुदूरपश्चिमसँग ५ विकेटले पराजित भएको चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले हराएको थियो। पछिल्लो खेलमा भने काठमाडौंसँग १० रनले पराजित भयो।
चितवनका अब दुई खेल बाँकी छन्। प्लेअफको सम्भावना कायम राख्न टोलीलाई दुवै खेलमा जित निकाल्नुपर्ने दबाब छ।
अर्कोतर्फ, जनकपुर बोल्ट्सले पाँच खेलबाट चार अंक मात्र जोडेको छ। कर्णाली याक्ससँग १९ रनले पराजित हुँदै प्रतियोगिता सुरु गरेको जनकपुरले त्यसपछि काठमाडौं गोर्खाजलाई ८ विकेट र पोखरा एभेन्जर्सलाई ९ रनले हराएको थियो।
तर पछिल्ला तीन खेलमा भने जनकपुरले लगातार हार बेहोरेको छ। विराटनगर किङ्ससँग दुई रनले पराजित भएको जनकपुर लुम्बिनी लायन्ससँग १६ रन र सुदूरपश्चिम रोयल्ससँग २७ रनले हारेको थियो।
प्रतियोगिताको अन्तिम खेल खेल्न लागेको जनकपुरलाई आजको जितले ६ अंकमा पुर्‍याउनेछ। तर प्लेअफमा पुग्न अन्य टोलीको नतिजासमेत अनुकूल आउनुपर्नेछ।
यसैबीच, बिहीबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित राख्ने सम्भावना बलियो बनाएको छ।
आजका दुवै खेलले एनपीएलको प्लेअफ समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।

Leave a Comment